आज हरितालिका तीज

काठमाण्डु टुडे २०७० भदौ २३ गते ३:३७ मा प्रकाशित

teejकाठमाण्डु, २३ भदौ– आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो ।

काठमाण्डुको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको साँगालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा लाइन बसेको ३० मिनेटमै दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ ।  तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए । पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ ।
तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेकाछन् ।

हरितालिका तीजको पर्सिपल्ट पन्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । पन्चमीका दिन महिनावारीबाट हुने छोइछिटोबाट हुने दोषबाट मुक्त हुन व्रत बसी सप्तऋषिको पूजा गर्ने प्रचलन छ । यसदिन व्रतालु महिलाहरु नजिकको जलाशयमा नुहाइधुवाइ गरी ३ सय ६० ओटा दतिवनले दाँत माझ्ने गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us