कोरियन लगानीकर्ता घामबाट ४२ मेगावाट बिजुली उत्पादन गर्न इच्छुक

काठमाण्डु टुडे २०७० भदौ २२ गते १४:४९ मा प्रकाशित

काठमाण्डु २२ भदौ–कोरियाको प्रतिष्ठित इयान टेक कम्पनी लिमिटेडले नेपालमा घामबाट तत्काल १० देखि ४२ मेगावाट बिजुली उत्पादन गर्ने इच्छा देखाएको छ ।इयान टेक कम्पनीका अध्यक्ष खाङ थे सङ र नेपालको दुधकोशी पावर कम्पनीका कार्यकारी निर्देशक रामबहादुर लामाबीच घामबाट बिजुली उत्पादन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।korean

इयान टेकले पाकिस्तान र बंगलादेशसहित विश्वका ३० देशमा घामबाट बिजुली उत्पादन गर्दै आएको छ । इयान टेकले लगानी गर्न लागेको नेपाल ३१ औं राष्ट्र हो । सम्झौता अनुसार, नेपालका १० वटा क्षेत्रमा ६ महिनाभित्र घामबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिनेछ । यसैगरी, दुधकोशी पावर कम्पनीले कोरियाकोे सोलार उर्जा परियोजनाहरुको अध्ययन अवलोकन गर्नेछ ।
घामबाट बिजुली उत्पादनका लागि पहिलोचरणमा काभ्रे, झापा र खोटाङ लगायतका स्थानलाई प्राथमिकतामा राखिएको दुधकोशी पावरका कार्यकारी निर्देशक रामबहादुर लामाले बताए । ‘जलविद्युत आयोजना भन्दा सोलार विद्युत उत्पादन केही महंगो हुन्छ, तर थर्मल प्लान्ट भन्दा यो धेरै नै सस्तो हो । १० मेगावाटसम्मको आयोजना ६ महिना भित्रै सम्पन्न गर्न सकिने भएकाले पनि नेपालका लागि सोलार आयोजना अति नै प्रभावकारी देखिएको छ,’कार्यकारी निर्देशक लामाले भने । सम्भाव्यता अध्ययन सकिनासाथ विद्युत उत्पादन सुरु गरिने लामाले बताए ।
एक सातादेखि नेपालमा रहेका कोरियन कम्पनी इयान टेकका अध्यक्ष खाङले सोलार विद्युतको प्रशस्तै सम्भावना रहेकाले नेपालमा लगानी गर्न चाहेको बताए । नेपाल सरकारले स्वीकृति दिए सयौं मेगावाटका सोलार उर्जा उत्पादन गर्न आफू तयार रहेको उनले बताए ।
नेपाल सरकारले पनि सोलार उर्जालाई प्राथमिकता दिने बताइरहेपनि अहिलेसम्म सोलार मेगा परियोजना संचालन भएको छैन । त्यत्तिकै खेर गइरहेको सौर्य उर्जालाई उपयोग गर्दा नेपालका लागि अति नै लाभदायक हुने दुधकोशी पावर कम्पनीका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनले भने ‘सोलार उर्जा आयोजना टिकाउपूर्ण पनि मानिन्छ । एक पटक प्लान्ट स्थापना गरिएपछि २५ बर्षसम्म सहजै निरन्तर विद्युत उत्पादन गर्न सकिनेछ ।’
दुधकोशी पावर कम्पनीले खोटाङको रावा खोलामा ६.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us