मंसिर ४ मै चुनाव गराउन सरकारलाई सघाउने दलहरुको प्रतिबद्धता

काठमाण्डु टुडे २०७० भदौ २२ गते १४:१० मा प्रकाशित

काठमाण्डु, २२ भदौ–मुख्य राजनीतिक दलका नेताहरुले मंसिर चार गते नै संविधानसभा चुनाव गराउन सरकारलाई सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारको आह्वानमा शनिबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरुले मंसिर चारमै संविधानसभा चुनाव गराउन सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

चुनावमा केही अवरोधहरु आउन सक्ने भए पनि मंसिर ४ मा चुनाव गर्नुको विकल्प नभएकोमा उनीहरुले जोड दिएका थिए । बैठकपछि सन्चारकर्मीहरुलाई प्रतिकृया दिदै नेताहरुले आफूहरु सरकारको साथमा रहेको बताए ।

हर्क गुरुङ हलमा भएको बैठकमा साना दलका नेताहरुले भने नेकपा–माओवादीलगायतका दलहरुलाई पनि सहमतिमा ल्याएर मात्र चुनावमा जान सरकारलाई सुझाव दिएका थिए । उनीहरुले चार दलीय सिण्डिकेट समाप्त गरेपछि मात्र चुनावका लागि सहज वातावरण बन्ने धारणा राखेका थिए ।

बैठकमा नेकपा–माओवादीलगायतका असन्तृष्ट दलहरुलाई पनि आमन्त्रण गरिए पनि उनीहरु भने सहभागी भएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us