दवावको राजनीतिले हित गरेन : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ २२ गते १५:१५ मा प्रकाशित

Prachandaधनगढी, २२ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुको दवावमा आएको राजनीतिक प्रणालीले नेपाल र नेपालीको हित नगर्ने प्रष्ट भैसकेको बताएका छन् । संसदीय प्रणालीले नेपाली जनता र राष्ट्रको हित गर्न नसकेको पुष्टि भईसकेको बताउँदै उनले यसको असफलताले विभिन्न पक्षले खेल्ने मौका पाएको टिप्पणी गरे ।

एवीसी टेलीभिजनले शनिबार कैलालीको धनगढिमा गरेको अन्तरक्रियामा उनले भने, ‘अरुबाट नक्कल गरिएको वा दवावमा आएको राजनैतिक प्रणालीले नेपालको हित नगर्ने इतिहासले पुष्टि गरिसक्यो ।’ उनले समावेशी र समानुपातिक राजनैतिक प्रणालीले मात्रै नेपाली जनतालाई पहिचान र अधिकार दिने दावी गरे । नेपाली समाजको ऐतिहासिक विकासक्रम र नेपाली जनताको चाहना अनुसारको राजनैतिक प्रणालीले मात्र नेपाली समाजको बृहत्तर विकास गर्न सक्ने उनको भनाई छ ।

नेपालमा सामाजिक न्याय सहितको आर्थिक प्रणाली हुनुपर्नेमा विशेष जोड दिदै अध्यक्ष प्रचण्डले आर्थिक सम्बृद्धिका लागि कृषिलाई आधार बनाएर उत्पादन बृद्धि गर्नुपर्ने धारणा राखे । निर्बाहमुखी खेतीबाट व्यवसायीक खेति गर्ने र कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिन सकिए आर्थिक बृद्धि छिटो र दिगो हुने प्रचण्डको भनाई छ ।

अन्तरक्रियामा राजनैतिक विश्लेषक झलक सुवेदीले जनताको विश्वास जित्न नेपालको आर्थिक सम्वृद्धिका जोड दिन दलहरुलाई सुझाव दिए । ‘राजनैतिक परिवर्तन भए पनि आम जनताले महसुस गर्नेगरि आर्थिक सम्बृद्धि हुन नसके नेपाली जनताले कुनै नेता वा पार्टीलाई पत्याउदैनन्’ सुवेदीले भने । उत्पादन ब्रिगेडको घोषणा गरेको एमाओवादीले पनि आर्थिक पक्षमा विशेष पहल गर्न नसके आगामी दिनमा आलोचना बढ्ने उनले चेतावनी दिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार किशोर नेपालले नेपालको राजनीतिलाई सहि ढंगले अघि बढाउने नेताहरुको कमी भएको धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us