
काठमाण्डु, २२ भदौ– सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री माधवप्रसाद पौडेलले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको दावी गरेका छन् । सरकारले हरेक हिसाबले निर्वाचनको वातावरण तयार गरिसकेको बताउँदै उनले निर्वाचन हुँदैन की भनेर कसैले शंका गर्नुनपर्ने बताए ।
‘निर्बाचनका बारेमा अब कुनै शंका, सन्देह र दुविधा लिनु पर्दैन,’ काठमाण्डुमा शनिबार विहान आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘तोकिएकै मितिमा चुनाव हुन्छ ।’ निर्वाचन राष्ट्रको साझा एजेन्डा हो भन्दै मन्त्री पौडेलले निर्वाचनका लागि आवश्यक कानुन, बजेट, सुरक्षा व्यवस्था, दल दर्ता, आचारसंहिताको पालना, अन्तर्राष्ट्रिय समुदायको सहयोग र सदभाव रहेको जानकारी गराए ।
शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका पौडेलले शिक्षा क्षेत्रमा देशले पछिल्लो समय धेरै उपलब्धि हासिल गरे पनि चुनौती कायमै रहेको बताए । १५ वर्ष उमेरमाथिका ३४ प्रतिशत जनता निरक्षर रहेको तथ्यांकले शिक्षा क्षेत्रमा चुनौती रहेको कुरालाई पुष्टि गरेको उनको भनाई थियो । भीमसेनगोलास्थित मोर्डन कन्या कलेजको वार्षिकोत्सवका अवसरमा ‘असल पुस्ता निर्माण हाम्रो अभियान’ विषयको अन्तक्र्रियामा पौडेलले यस्तो धारणा राखेका हुन् । मन्त्री पौडेलले प्रवेशिका परीक्षाको नतिजामा समेत सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।