
सुर्खेत, २२ भदौ–संयुक्त बजार अनुगमन समिति सुर्खेतले वीरेन्द्रनगर र आसपासका क्षेत्रमा अनुगमनलाई कडाइ गरे पनि कारबाही भने फितलो देखिएको छ । समितिले बजारमा छापा मार्ने र सामान्य चेतावनी मात्रै दिएर छाडिदिने गरेको सरोकारवालाको गुनासो छ । समितिले सामान बरामद गर्नुलाई नै कारबाहीको रुपमा लिएको छ ।
ठूलै मात्रामा अखाद्य पदार्थ बरामद गर्ने भए पनि अनुगमन समितिले अहिलेसम्म कसैलाई कारबाही गर्न नसकेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताए । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले कानुन मिचेर व्यापार गर्नेलाई कारबाही हुन नसक्दा व्यापारीले उचो मनोवलका साथ अखाद्य वस्तु बिक्री गर्दै आएको बताएको छ । उपभोक्ता मञ्चका अध्यक्ष आकाशतारा बयकले चाडपर्वका बेला कमसल उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गर्न माग गरे ।