आफू प्रधानमन्त्री हुने बिप्लवको दावी

काठमाण्डु टुडे २०७० भदौ २२ गते १५:१४ मा प्रकाशित

Netra-Bikram-Chandकाठमाण्डु २२ भदौ–नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्दले एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीवीच पार्टी एकता सम्भव रहेको बताएका छन् । चन्दले पार्टी एकताको विषयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक कुराकानी भएको खुलासा पनि गरेका छन ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि नेकपा–माओवादीसँग पार्टी एकता संभव रहेको बताउँदै आएका छन । गत भदौ ९ गते आफनै निवास लाजिम्पाटमा नेकपा–माओवादीका पदाधिकारीसँग पनि प्रचण्डले निर्वाचनमा सहभागी हुने अवस्थामा सहकार्य गर्न सकिने जनाउ दिएका थिए ।
हिमालय टेलिभिजनमा शनिवार राती नौ बजेर पाँच मिनेटमा प्रशारण हुने द आरडी सोका लागि ऋषि धमलासँगको कुराकानीमा आफूहरुको नेतृत्वमा एमाओवादीसँग पार्टी एकता हुन सक्ने चन्दले बताए । पहिला जन परिचालन गर्ने र त्यसपछि पनि परिवर्तन हुन नसके हतियार उठाउने स्पष्ट पार्दै त्यसपछिको क्रान्तिको नेतृत्व गरी आफू प्रधानमन्त्री बन्ने दावी पनि चन्दले गरेका छन ।
दलहरुवीच गोलमेच सम्मेलन हुने सहमति भए पनि त्यसलाई अमरेश कुमार सिंहले भाँडेको र सो कुरा सिंहले आफूसँग भनेको खुलासा गर्दै चन्दले संविधानको अन्र्तबस्तुमा सहमति नभएसम्म गोलमेचबाट पनि सहमति हुन नसक्ने बताए । भदौ ८ गते अमरेश कुमार सिंहको निवासमा नेपालका लागि तत्कालीन भारतीय राजदुत जयन्त प्रसादको सम्मान बिदाइ रात्रीभोज आयोजना गरिएको थियो । सो भोजमा गृहमन्त्री माधव घिमिरे,प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती,सुरक्षा निकायका प्रमुख र शिर्ष नेताहरु सहभागी थिए ।
चन्दले आफूहरुको सहमति विना मुलुकमा निर्वाचन नै हुन नसक्ने ठोकुवा गर्दै आफूहरुसँग निर्वाचन असफल बनाउने धेरै रणनीतिहरु तयारी अवस्थामा रहेको बताए । जवरजस्ती चुनाव गर्न खोजे ध्वस्त पार्ने चेतावनी पनि उनले दिए । चन्दले भने ‘असफल भईसकेको संविधानसभालाई ब्यूउताएर संविधान बन्न सक्दैन । संविधानका अन्र्तबस्तुमा सहमति जुटाएर संविधानसभा बाहिरैबाट संविधान बनाउनु पर्छ ।’
मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी स्वयम गोलमेच सम्मेलनको पक्षमा रहेको,रेग्मी पद त्याग्न र निर्वाचनको मिति सार्न पनि तयार रहेको जानकारी चन्दले दिए । दलहरुवीच सहमति हुन्छ भने आफू पद त्याग्न तयार रहेको रेग्मीले आफूहरुलाई बताएको जानकारी चन्दले दिए । उच्चस्तरिय राजनीतिक समितिमा रहेका पाँच दलले त्यस्तो हुन नदिएको आरोप पनि चन्दले लगाए ।
उनले चीनले आफूहरुलाई चुनावमा जानु वा नजानु केही पनि नभनेको स्पष्ट पार्दै चीनले अहिलेसम्म चुनावी कार्ड खोलि नसकेको चन्दले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us