
काठमाण्डु २२ भदौ–एकीकृत नेकपा माओवादीले आब्हान गरेको काठमाण्डु उपत्यका,गोरखा र चितवन बन्द १२ बजेपछि फिर्ता फिर्ता लिएको छ । नेपाली नारीहरुको चाड तीज पर्वलाई मध्यनजर गर्दै १२ बजेपछि बन्द खुलाउने निर्णय गरिएको प्रवक्ता अग्नी सापकोटाले बताए ।
गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको घटनासँग जोडेर शुक्रवार गोरखाका रामप्रसाद अधिकारीलाई गिरफ्तार गरिएको घटनालाई लिएर सो पार्टीले शनिवार बिहान ८ बजदेखि काठमाण्डु उपत्यका,चितवन तथा गोरखा बन्द आब्हान गरेको थियो । प्रवक्ता सापकोटाले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘यो घटनाको गाम्भीर्यताबारे बारम्बार सरकारलाई अवगत गराउँदा समेत उल्टै गिरफ्तारीमा उत्रेकोले हाम्रो पार्टी बाध्य भएर बन्दजस्तो अप्रिय कार्यक्रम राख्न बाध्य भएको थियो । यसबाट जनतामा पर्न गएको अप्ठेरोप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’
एकीकृत माओवादीले सशस्त्र युद्ध अवधिका घटनाहरुलाई लिएर आफनो पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा समर्थकहरुमाथि धरपकड गर्ने, गिरफ्तार गर्ने तथा आतंकित पार्ने काम तुरुन्त बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका बिषयमा गत साउन २९ गते सो पार्टीका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न सार्वजनिक रुपमा सरकारलाई आग्रह गरेका थिए । केही दिनअघि सकिएको केन्द्रीय समितिको बैठकपछि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटेर कार्यकर्ता पक्रनुको सट्टा आफू र डा बाबुराम भट्टराईले पक्रन चुनौती दिएका थिए । त्यसपछि पनि शुक्रवार गरिएको गिरफ्तारीको घटनाले आफनो पार्टीलाई गम्भीर बनाएको प्रवक्ता सापकोटाको बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ ‘चुनावको वातावरण बन्दै गएका बेला यस्ता कार्यले कतै सरकार नै चुनाव भाँड्न लागेको त हैन भन्ने आशंका उत्पन्न भएको छ ।’
गिरफ्तार गरिएका रामप्रसाद अधिकारीलाई तुरुन्त रिहा गर्न माग गर्दै बिज्ञप्तिमा अधिकारीलाई रिहा गरी मुद्दा फिर्ता नगरेमा आफनो पार्टीले थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिइएको छ । बिज्ञप्तिमा भनिएको छ‘विगतमा भएको शान्ति सम्झौतालगायत राजनीतिक सम्झौतालाई पालना गर्दै द्धन्द्धकालीन मुद्दाहरुलाई सम्बोधन गर्न यथाशीघ्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी समस्याका समग्र समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ।’