
काठमाण्डु, २१ भदौ– सरकारले रोजगारी बढ्ने खालका विकास परियोजनाहरुमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गरेको छ । विश्व बैंकका नेपालस्थित राष्ट्रिय निर्देशक जोन जुटसँग शुक्रबार भएको भेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक सुधार र विकासका काममा बैंकको साझेदारी आवश्यक भएको बताए ।
सरकारले प्राथमिकतामा राखेका हाइड्रोपावर, कृषि, पूर्वाधार विकास, पर्यटन र सिंचाईजस्ता क्षेत्रमा विश्व बैंकको सकृयता र सहभागिताको सरकारले अपेक्षा गरेको उनको भनाई थियो । मन्त्री कोइरालाले गरिबी निवारण दुवैको समान उद्देश्य भएकाले समन्वय गरेर अघि बढ्नुपर्ने भन्दै दातृ निकायबाट आउने गुनासालाई सरकारले कम गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए । अघिल्लो वर्ष अहिले सम्मकै सर्वाधिक धनराशि सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै मन्त्री कोइरालाले सुशासन कायम गर्न पनि बैंकको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा बैंकका राष्ट्रिय निर्देशक जुटले कर्मचारी सरुवा, समयमै काम नहुने, फितलो अनुगमन प्रणाली र आर्थिक अनुशासनको कमीले विकासमा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको गुनासो गरेका थिए । उनले जनताको आर्थिक अवस्था सुधार आउने खालका कार्यक्रमहरुमा विश्व बैंकले सहकार्य गर्ने विश्वास दिलाएको अर्थमन्त्री कोइरालाका प्रेस सहयोगी संकेत कोइरालाले जानकारी दिएका छन् ।