एक दिनको काम ६ घण्टामा झारौं : कोइराला

काठमाण्डु टुडे २०७० भदौ २१ गते ५:२३ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, २१ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दुई दिनको काम एक दिन र एक दिनको काम ६ घण्टामा झार्न सके मात्र निजामती सेवा दिवस मनाएको सार्थक हुने बताएका छन् । निजामती सेवा दिवस २०७० का अवसरमा अर्थ मन्त्रालयले शुक्रबार गरेको कार्यक्रममा उनले आफ्नो विगत सम्झिएर आफूले आफैलाई सच्याउने दिनका रुपमा ग्रहण गर्न आग्रह गरे ।

राजनीतिकर्मी र सेवाग्राहीले कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको अनुभव सुनाउँदै मन्त्री कोइरालाले निवृत्त प्रशासकहरु नै सरकारमा रहेको वर्तमान अवस्थामा त्यो छवि सुधार्ने मौका भएको स्पष्ट पारे । उनले बदलिदो अवस्थामा कर्मचारीलाई विगतजस्तो अविश्वास गर्ने अवस्था नरहेको भन्दै यतिबेला कार्य सम्पादन अब्बल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले काम भए या नभए पनि सेवाग्राहीको पीर मर्का सुन्ने संस्कृतिको विकास गर्न आग्रह गरे । सवै कर्मचारी विश्वास गर्न लायक र सवै नालायक नरहेको भन्दै सचिव सुवेदीले कार्यालयको काम घरायसी महत्वाकांक्षाबाट प्रभावित हुन नदिन सचेत गराएका थिए ।

सो अवसरमा मन्त्रालयमा उत्कृष्ट काम गरेवापत कर्मचारी मधु थापा र सफाईमा संलग्न कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसअघि अर्थमन्त्री, सचिव, सहसचिवलगायत मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुले मन्त्रालय हातामा कुचो लगाएर सरसफाई गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us