उच्चस्तरीय समिति र संघीय समाजवादीबीच पाँचबुँदे सहमति

काठमाण्डु टुडे २०७० भदौ २१ गते १२:३५ मा प्रकाशित

Ashok-Raiकाठमाण्डु, २१ भदौ । उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादीबीच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
समिति र संघीय समाजवादीबीच नयाँबानेश्वरमा बिहान भएको वार्ताले यसअघि नै भएको सहमतिलाई औपचारिकता दिएको हो । सहमतिपत्रमा समितिका तर्फबाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादीका तर्फबाट अध्यक्ष राईले हस्ताक्षर गर्नुभएको छ । सहमतिसँगै संघीय समाजवादी पार्टी आन्दोलन स्थगन गरी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनमा सहभागी हुने भएको छ ।

सहमतिको पहिलो बुँदामा ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेशमा जे जस्तो व्यवस्था गरिएको भए पनि संविधानसभा सदस्य संख्या ६ सय १ नै कायम गर्ने उल्लेख छ । यस्तै सहमतिमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुको सहभागितामा सर्वदलीय आह्वान गर्न सरकारलाई आग्रह गर्ने, विघटित संविधानसभामा भएको सहमतिसमेतका आधारमा भावी संविधानसका आधारभूत सिद्धान्तमा सहमति कायम गर्न अधिमकत प्रयत्न गर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन प्रक्रिया सुरु गर्ने उल्लेख छ ।

समिति संयोजक काँग्रेस सभापति सुशील कोइराला राजधानीबाहिर रहेका कारण यसअघि बिहीबार सहमतिमा औपचारिक हस्ताक्षर हुन पाएको थिएन ।

यस्ता छन् सहमतिका पाँच बुँदा

उच्चस्तरीय राजनीतिक समिति र संङ्घीय समाजवादी पार्टी, नेपालबीच भएको सहमति

नेपाल सरकारद्वारा घोषित संिविधानसभाको निर्वाचनलाई सुनिश्चित गर्दै उच्च स्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टी, नेपालबीच देहाय बमोजिम सहमति भएको छ । –
१. सम्बत २०६९ साल फागुन ३० गते भएको ११ बुँदे राजनीतिक सहमति र त्यसपछि नेपाल सरकारको सिफासिमा नेपालको अन्तरिम संविधान–२०६३ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेशमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभाको दोस्रो निर्वाचनका लागि संविधान सभाको सदस्या सङ्ख्या, अनुपात र प्रतिनिधित्व २०६४ सालको संविधान सभाको निर्वाचनमा कायम रहे अनुरुप संविधानको धारा ६३ को उपधारा ३ बमोजिम गर्न सम्माननीय राष्ट्रपति र नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गर्ने ।

२. संविधानसभाको घोषित निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभाको सभासद रहेका सबै दलहरुको सर्वदलीय बैठक आयोजना गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।
३. भावि संविधानका आधारभूत सिद्धान्तका विविध पक्षमा छलफल अघि बढाई विगत संविधान सभामा भएका सहमति समेतका आधारमा आवश्यक सहमति कायम गर्न अधिकतम प्रयत्न गर्ने ।
४. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार प्रदान गर्ने सन्दर्भमा यथासमय आवश्यक कानुनी व्यवस्था गरी सोको प्रक्रिया थालनी गर्ने ।
५. उपरोक्त सहमतिका आधारमा सङ्घीय समाजवादी पार्टी, नेपालद्वारा घोषित आन्दोलन फिर्ता लिई २०७० साल मङ्सिर ४ गते हुने निर्वाचनमा सहभागी हुने ।

मिति २०७० भाद्र २१

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us