कालीगण्डकीमा सञ्चालित ‘स्टीमर’ अवैध

काठमाण्डु टुडे २०७० भदौ २० गते ३:२१ मा प्रकाशित

Stimerस्याङ्जा, २० भदौ – देशकै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित ‘स्टीमर’ अर्थात जल यातायात सेवा अवैध रहेको खुलासा भएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतका अनुसार यात्रुको सुरक्षा तथा बिमासम्बन्धी कुनैपनि प्रक्रिया पूरा नगरी स्टीमर सञ्चालन भएको पाइएकाले दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । उनका अनुसार जलयातायात समितिलाई कम्पनी रजिस्ट्रारको कार्यालमा दर्ता गरी भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था कानुनमा उल्लेख भएकाले प्रक्रिया पुर्याउन निर्देशन दिइएको हो ।

मिर्मीस्थित अाँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलासम्मको सात किलोमिटर क्षेत्रमा स्थानीय शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिको नामबाट सञ्चालित ‘स्टीमर’ कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि गएको असारदेखि बन्द गरिएको थियो ।

जलयातायात सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर रानाले पनि संस्थालाई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर मन्त्रालयबाट स्वीकृति लिने तयारीमा लागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us