‘भौतिक पूर्वाधार आर्थिक उन्नतिको पहिलो खुड्किलो’

काठमाण्डु टुडे २०७० भदौ १९ गते १०:१६ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, १९ भदौ–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्कको उद्देश्य प्राप्तिका लागि अर्थमन्त्री स्तरीय बैठक फलदायी भएको दावी गरेका छन् । श्रीलंकाको कोलम्बोमा सम्पन्न सार्क अर्थमन्त्रीहरुको छैठौं बैठकमा भाग लिई बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिँदै मन्त्री कोइरालाले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्बन्धी सम्झौता (साफ्टा) कार्यान्वयनप्रति नेपालले पूर्ण प्रतिवद्धता जनाएको जानकारी दिए ।

बैठकमा बढ्दो डलर मूल्यले स्थानीय मुद्रामा परेको प्रभाव हटाउने विषयमा गम्भीर चासो र चिन्ता प्रकट गरिएको भन्दै उनले यो समस्याका विषयमा सामूहिक प्रयास गर्ने सहमति भएको जानकारी गराए । यो समस्या केही समयमै टरेर जाने उनको भनाइ छ । मन्त्री कोइरालाका अनुसार बैठकले भौतिक पूर्वाधार सम्बन्धी व्यापारमा रहेका अवरोध हटाउने, भन्सारका प्रक्रिया सरलीकरण गर्ने, पर्यटन, कृषिजस्ता विषयमा आपसी सहयोग बढाउने निर्णय गरेको छ ।

अर्थमन्त्री कोइरालाले सार्क मञ्चमा नेपालले  भौतिक पूर्वाधारलाई आर्थिक उन्नतिको पहिलो खुड्किलोमा राखेको बताउनु भयो । अर्को वर्ष नेपालमा हुने सार्क अर्थमन्त्री र सचिवहरुको बैठकले सार्कको गरिमालाई उच्च पार्न आफूहरुको प्रभावकारी भूमिका रहने अर्थमन्त्री कोइरालाको भनाइ छ ।

अर्थमन्त्रीको स्वागतका लागि अर्थ सचिव शान्तराज सुवेदीलगायत मन्त्रालयका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us