राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार घोषणा

काठमाण्डु टुडे २०७० भदौ १९ गते १०:१० मा प्रकाशित

CJNकाठमाण्डु, १९ भदौ–सहकारी पत्रकार समाज (सिजेएन) ले आगामी वर्षदेखि सहकारी क्षेत्रमा कलम चलाउने एक सञ्चारकर्मीलाई ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ दिने घोषणा गरेको छ । सिजेएनको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाण्डुमा भएको कार्यक्रममा अध्यक्ष यादव हुमागाईंले सहकारी क्षेत्रमा कार्यरत पत्रकारको प्रोत्साहनका लागि सो पुरस्कार दिने निर्णय भएको जानकारी गराए ।

सहकारीको विकासका लागि सहकारी अभियानमा सञ्चारकर्मीलाई पनि साथै लैजानुपर्ने भन्दै उनले सहकारी संस्था पारदर्शी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले एउटा सहकारी संस्था वा एक व्यक्तिले सहकारी क्षेत्रमा नराम्रो गर्यो भनेर सबैलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिएको गुनासो गरे ।

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार केदार न्यौपाने, उपभोक्ता केन्द्रीय सहकारी संघका अध्यक्ष दीपकप्रसाद पौडेल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ऋषिराज घिमिरे र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले समाज परिवर्तनका लागि सहकारीले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

हाल नेपालमा रहेका ३० हजार सहकारी संस्थामा करिब ४५ लाख सदस्य रहेको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us