गाईजात्रा पर्व सुरु

काठमाण्डु टुडे २०७० भदौ ६ गते ६:१५ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– दिवङगत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि नेवार समुदायले हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व बिहीबारबाट सुरु भएको छ ।
gaijatraगाइजात्राका दिन बिहानैदेखि गाई तथा कुमारी कन्यालाई गाईका रुपमा सिंगारेर टोलटोलमा घुमाउने गरिन्छ । एक वर्षभरि बन्द रहने यमलोकको मुख्यढोका मत्र्यलोक अर्थात पृथ्वीमा गाईजात्रा निकालेपछि खुल्ने र मृतआत्माले यमलोकमा प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ । गाईजात्रामा गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धामिर्क विश्वास रहिआएको छ ।

गाईजात्राका दिन दिवङगत भएका आफन्तको सम्झनामा सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले  जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको मानिन्छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप गाईजात्राका दिन हाँस्यव्यग्य प्रदर्शन गरिँदै आएको छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति–विसङगति उजागर गर्न सार्वजनिकरुपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक कार्यक्रम गर्ने गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us