
काठमाडौ, ६ भदौ–नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्डफ्लु भित्रिएको दावी गरेका छन् ।
अखिल नेपाल किसान महासंघद्धारा बिहिवार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा डम्पिङ चार्ज हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्राउने मृत कुखुराको मासुबाट नेपालमा बर्डफ्लु भित्रिएको बताए । उनका अनुसार धादिङमा पक्राउ परेको सो मासुमा बर्डफ्लुको जिवाणु पाईएको थियो ।
रोग लागेका कुखुराहरु अहिले पनि बजारमा विक्री भईरहेको स्मरण गराउदै महासंघका अध्यक्ष समेत रहेका गौतमले नेपाली जनता त्रस्त रहेको बताए । मानवीय स्वास्थ्यमा ख्याल गरेर सरकारलाई सक्रियतापूर्वक बैज्ञानिक ढंगले रोग नियन्त्रण गर्न पनि उनले सुझाव दिए । कृषि उत्पादनको आयातामा लाग्दै आएको डम्पिङ चार्ज हटाउँदा भारतमा अनुदान प्राप्त सस्तो कृषि उत्पादन नेपाल भित्रिएपछि नेपालको कृषि धरासायी बन्न थालेको उनको दावी थियो ।
महासंघले मानवमा बर्डफ्लु नफैलने गरी तत्काल बैज्ञानिक ढंगले बर्डफ्लु नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने, रोग लागेका पंक्षीलाई सुरक्षित रुपमा नष्ट गर्नु पर्ने, किसानलाई बास्तविक क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, रोगलागेका कुखुरा विक्री वितरण गर्नेलाई कारवाही गर्नु पर्ने, किसानको ऋणमा ब्याज मिनाहा गर्नुपर्ने, कुखुरा ब्यवसायको पुनस्थापनाकोलागि राहत प्याकेज ल्याउनु पर्ने माग गरेको छ ।
‘बजार कब्जा गर्ने भारतीय गुरुयोजना’
नेकपा–माओवादीले कुखुरा व्यवसायीको लगानीको रक्षा गर्दै उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । ‘हिमालय सिमेन्ट, बाँसवारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखना, विरजंग चिनी उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुटमिल, जनकपुर चुरोट कारखानालाई डुबाएर विदेशीलाई रिझाई देशलाई परनिर्भरता तिर लगे जस्तै मासुको लागि आत्मनिर्भर बन्दै गएको पन्छीपालन व्यवसायलाई नक्कली भ्याक्सिन मार्फत तहसनहस गरी मासुमा परनिर्भर बनाउँदै कमिसनको खेल मार्फत भारतीय मासु उपत्यकामा ल्याउने र बजार कब्जा गर्ने गुरु योजना अनुसार यो घटना घटाइएका छन्’माओवादीको नेवा राज्य समितिका सेक्रेटरी दिलिपकुमार प्रजापतिद्धारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ‘भारतीय दलालद्वारा बजार कब्जा गरी मासु लगायत दैनिक उपभोग्य वस्तुमा योजनाबद्ध रुपले भाउ बृद्धि गरी महंगी बढाइएको छ र नेपाली उत्पादन तहस नहस पार्ने दलालहरुलाई तुरुन्त कार्वाही गरी दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ र सहज रुपमा उपलब्ध गराइयोस, बढ्दो मंहगी नियन्त्रण गरियोस।’