यथाशीघ्र गोलमेच बैठक गर्ने सहमति

काठमाण्डु टुडे २०७० भदौ ६ गते ६:२३ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच थयाशीध्र सर्वदलीय वार्ता आह्वान गर्ने सहमति भएको छ ।
high lavel commitee

समिति र मोर्चाबीच बिहीबार भएको वार्तामा निर्वाचनसहित सबै विषयमा सहमति जुटाउन सर्वपक्षीय वार्ता गर्ने सहमति भएको बैठकपछि नेताहरुले बताएका छन् ।  बैठकको विधि, प्रक्रिया, समय, स्थान र कोको सहभागी हुने भन्ने टुंगो लागेको छैन । त्यसका लागि आववश्यक गृहकार्य गर्न आइतबार फेरि वार्तामा बस्ने सहमति दुई पक्षबीच भएको छ । उच्चस्तरीय समितिमा प्रतिनिधित्व गर्ने मुख्य चार दल बैठकमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलका प्रतिनिधि सहभागी गराउनुपर्ने पक्षमा छन् । मोर्चाले भने नागरिक आन्दोलनका अगुवा र स्वतन्त्र व्यक्तिहरुलाई समेत बैठकमा सहभागी गराउन माग गरेको छ ।

‘मुलुकमा विद्यमान सबै समस्याको समाधानबारे छलफल गर्न गोलमेच सभा बोलाउने सैद्धान्तिक सहमति भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष वैद्यले भने, ‘त्यसको विधि, प्रक्रिया र कोको सहभागी हुने भन्नेबारे गृहकार्य गरेर सहमतिमा पुग्ने कुरा भएको छ ।’ अध्यक्ष वैद्यले वार्ता सकारात्मक भएको र सर्वपक्षीय गोलमेच सम्मेलनबाट सरकार परिवर्तन, निर्वाचन स्थगनलगायत आफूहरुका १८ बुँदे मागबारे निष्कर्षमा पुगिने विश्वाससमेत व्यक्त गरे ।

यसैबीच दलहरुबीच गोलमेचसभा वा सर्वपक्षीय बैठक के भन्ने भन्नेमा मत बाझिएको छ । समितिमा रहेका मुख्य दल सर्वपक्षीय बैठक र मोर्चा गोलमेच सम्मेलन भन्नुपर्ने पक्षमा देखिएका छन् । ‘गोलमेच भन्ने वा सर्वदलीय बैठक भन्नेमा टुंगो लागेको छैन’, एमाले नेता रघुजी पन्तले भने, ‘बैठकको प्रक्रिया र पद्धतिबारे सहमति भएपछि मिति तोक्ने सहमति भएको छ ।’
वैद्य मोर्चाले वर्तमान सरकार गठनअघि भएको ११ बुँदे सहमति, २५ बुँदे बाधाअड्काउ आदेश र उच्चस्तरीय राजनीतिक समिति खारेजी तथा सरकार परिवर्तन र ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगनलगायत माग अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us