युवासंघ विवादमा एमाले नेता पनि बिभाजित

काठमाण्डु टुडे २०७० साउन ३१ गते ४:४३ मा प्रकाशित

काठमाण्डु ३१ साउन । भातृसंगठन युवा संघको विवादमा नेकपा एमालेका नेताहरु पनि बिभाजित भएका छन।अध्यक्ष महेश बस्नेत पक्षले मोरङको सुन्दरपुरस्थित गोठगाउँ र उपाध्यक्ष झपटबहादुर रावल पक्षले काठमाण्डुमा बिहिवार आयोजना गरेका प्रशिक्षण र भेलामा एमाले नेताहरु बिभाजित भइ सहभागी हुन लागेका हुन । अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु उपाध्यक्ष बामदेव गौतम, पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डे,रघुजी पन्त,जगन्नाथ खतिवडा,गोकर्ण बिष्ट र केन्द्रीय mahesh-basnet_20130216093317सदस्य राजेन्द्र राईले काठमाण्डुको भेलालाई प्रशिक्षण दिनेछन भने केपी ओली पक्षका नेताहरु उपाध्यक्ष बिद्या भण्डारी,महासचिव इश्वर पोखरेल,सचिव शंकर पोखरेल र युवा इन्चार्ज शेरबहादुर तामाङ मोरङमा प्रशिक्षण दिदैछन ।
करोडौ भ्रष्टाचार भएको रहस्योदघाटन
युवा संघ नेपालमा अध्यक्ष महेश बस्नेत र उनको समूहले करोडौ रकम भ्रष्टाचार गरेको रहस्योदघाटन भएको छ । युवा संघका उपाध्यक्ष झपटबहादुर रावलले मंगलवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी सो बिषयको रहस्योदघाटन गरेका हुन । एमाले नेता केपी ओली पक्षका बस्नेत र अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल निकट रावल वीचको विवाद समानान्तर संगठन र कार्यक्रम सञ्चालन गर्ने तहमा पुगेको छ ।
उपाध्यक्ष रावलले संगठनको बुटवल महाधिवेशनमा लेवि बापत ५० करोड रुपैया, स्थायी समितिबाट साढे पाँच करोड रुपैया,पार्टीबाट मासिक ३० हजारको दरले प्राप्त ३० महिनाको नौ लाख रुपैया, नर्वेजियन राजदुतावासबाट प्राप्त पाँच लाख रुपैया, नेपाल सरकारले यूवा सम्मेलनको नाममा दिएको १६ लाख रुपैया,दक्षिण अफ्रिका जाँदा प्राप्त आठ लाख रुपैया र सहयोग रसिदबाट प्राप्त कुनै पनि रकमको हिसाव पारदर्शी नगरी अध्यक्ष बस्नेतले हिनामिना गरेको तथ्य उपाध्यक्ष रावलले सार्वजनिक गरेका हुन । रावलले संगठनको आम्दानी र खर्चको निष्पक्ष लेखापरीक्षण गर्न पनि माग गरेका छन । युवा संघका अर्का एक नेताका अनुसार बस्नेतले काठमाण्डुमा घर निर्माण गरेका छन ।
पत्रकार सम्मेलनमा कार्यक्रमको विषयमा निर्णय गर्ने १७ सदस्यीय स्थायी समितिमध्ये चार जना उपाध्यक्ष र ६ सचिव गरी १० जना उपस्थित थिए । रावलसँगै दिलकुमारी पन्त, सूर्य ढकाल, राजु गुरुङ, नरेशकुमार शाही, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा, हस्तबहादुर शाही, क्रान्ति बुर्लाकोटी र अशोक चन्द पनि पत्रकार सम्मेलनमा सहभागी थिए । स्थायी समितिको बहुमतको आधारमा अध्यक्ष बस्नेतको मनोमानी विरुद्ध आफूहरुले काठमाण्डुमा अलग्गै कार्यक्रम गर्ने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।
संगठनभित्र बढेको आर्थिक अपारदर्शिता, स्वेच्छाचारिता र विधि उल्लघन लगायतका विषयलाई लिएर लामो समयदेखि आरोप प्रत्यारोपमा रहेका यूवा संघ नेपालका अध्यक्ष बस्नेत र उपाध्यक्ष रावल पक्षले अन्ततःसंघको बैठक र कार्यक्रमहरु नै समानान्तर ढंगले अघि बढाएका छन् । महाधिवेशनपछि गत साउन १९ गते बसेको संगठनको दोस्रो स्थायी समिति बैठकले साउन २४ देखि २६ सम्म काठमाण्डुमा केन्द्रीय कमिटीको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेपनि अध्यक्ष बस्नेतले बैठकको निर्णय लत्याउँदै फेसबुक मार्फत आगामी साउन ३१ र ३२ गते विराटनगरमा बैठक र प्रशिक्षण गर्ने जानकारी दिएपछि दुई पक्ष वीचको आन्तरिक विवाद बाहिर आएको हो ।
स्थायी समितिको निर्णय विरुद्ध अध्यक्ष बस्नेत गएपछि बहुमत सदस्यको नेतृत्व गरेका उपाध्यक्ष रावलले पत्रकार सम्मेलन गरेर साउन ३१ र ३२ गते समानान्तर रुपमा पार्टी मुख्यालय बल्खुमा बैठक गर्ने घोषणा गरेका छन । त्यस्तै उनीहरुले अध्यक्ष समूहले भदौ १ र २ गते धरानमा राष्ट्रिय महिला भेलाको आयोजना गरेकोमा सोही मितिमा काठमाण्डुको राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला र भदौ १४ र १५ गते काठमाण्डुमै जिल्ला अध्यक्षहरुको भेला गर्ने घोषणा समेत गरेका छन।
उपाध्यक्ष रावलले अध्यक्ष बस्नेतले अपराधको आरोप लागेका सचिवालय सदस्य पर्शुराम बस्नेतलाई संगठनभित्र स्थापित गर्ने योजनाका साथ स्थायी समितिलाई बहिस्कार गर्दै सम्मेलन आयोजना गरेकोले आफुहरु त्यसका विरुद्ध अलग्गै अघि बढ्न बाध्य भएको बताए । उपाध्यक्ष रावलले अध्यक्ष बस्नेत माथि महाधिवेशनले बनाएका समितिलाई बहिस्कार गरेको,एकै ठाँउमा तीन तीन राष्ट्रिय स्तरका कार्यक्रम जवरजस्ती गर्न खोजेको, सुनसरी,मोरङ पार्टी र सुनसरी यूवा संघले कार्यक्रम गर्न नसक्ने पत्र पठाए पनि जवरजस्ती गर्न खोजेको,कोशी अञ्चल कमिटीमा विवाद रहेको अवस्थामा कोशीमै कार्यक्रम गर्न लागेको,संगठनलाई ब्यक्तिगत सनकको भरमा सञ्चालन गरेको र आर्थिक पारदर्शिता नगरेको आरोप लगाउँदै आफूहरु संगठनभित्र हुर्केको निरकुंशताको विरुद्ध अलग्गै कार्यक्रम गर्न बाध्य भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us