
ललितपुर २७ साउन:मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको एउटा घटक राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिका दुइ वटा समानान्तर समिति घोषणा भएको छ।माओवादीकी प्रवक्ता पम्फा भुषाल र महासंघका अध्यक्ष रुक्म लामिछाने पक्षले दयाराम बस्यालको नेतृत्वमा ९५ सदस्यीय समिति घोषणा गरेको छ भने अर्को पक्षले महादेव पोखरेलको अध्यक्षमा ८३ सदस्यीय अर्को समिति घोषणा गरिएको छ । दुवै पक्षले आफूलाई आधिकारिक र बैधानिक रहेको दावी गरेका छन । भुषालले भनिन‘दयारामजीको नेतृत्वमा गठित समिति नै आधिकारिक र बैधानिक हो।’
पोखरेलले आफू नेतृत्वको समिति श्रम बिभागमा दर्ता भइसकेको कारण देखाउदै आफू नै बैधानिक रहेको दावी गरे । पोखरेलले भने‘मैले बन्दसत्रमा रुक्म लामिछाने र पम्फा भुषालको गुटवाद, फुटवाद, संकिणवाद, भ्रष्टाचार र अपारदर्शीताका वारेमा भण्डाफोर गरेको थिए,त्यसो भएपछि बन्द सत्रमा केहिवेर चर्कोस्वरमा आरोप प्रत्यारोप चलेको थियो । हामीले मेरो अध्यक्षतामा समिति बनाएर हिडेपछि उहाँहरुले सुरक्षा घेरामा अर्को भेला बोलाएर समिति बनाएको सुनेको छु त्यो अबैध हो ।’उनका अनुसार महाधिवेशनमा सहभागी दुई सय ५० सदस्य मध्ये उनको पक्षमा दुई सय जनाले समर्थन जनाएका छन । नेतृ भुषालको व्यवहारबाट आक्रोशित देखिएका पोखरेलले भने ‘पार्टी नेताको व्यवहारका कारण पार्टीसँग निकटता होइन बिकटता हुने संभावना हुन्छ।’