नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:२० मा प्रकाशित

काठमाडौँ, २१ साउन । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्ने क्रम नरोकिएपछि बजारमा नेपाली रुपैयाँ कमजोर बनेको हो । हिजो ९८ रुपैयाँको हाराहारीमा कारोबार भएको अमेरिकी डलरको मूल्य नेपाल राष्ट्रबैंकले आजका लागि ९८ रुपैयाँ ५५ पैसा तोकेको छ । बैंकहरूको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेनाडले हिजो तीनपटकसम्म डलरको मूल्य बढाएर कारोबार गरेका थिए ।
डलर बलियो भएसँगै भारतीय मुद्रासहित पाउण्ड, युरो र अन्य इशियाली मुलुकको मुद्रा पनि कमजोर भएका छन् । भारतीय केन्द्रीय बैंकले भारु अवमूल्यन रोक्ने प्रभावकारी कार्यक्रम नल्याएका कारण डलरको मूल्य उकालो चढेको अर्थविद्हरु बताउँछन् । नेपाली रुपैयाँको भारतीय रुपयाँसँग भएको स्थिर विनिमय दरका कारण भारतीय अर्थतन्त्रको प्रभाव नेपाली मुद्रा बजारमा पर्ने गरेको छ ।
भारतबाहेकका मुलुकबाट आउने पेट्रोलियम पदार्थ, मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र कपडाको मूल्य भने डलरसँगै बढ्छ । तर डलरमा मूल्य वृद्धि भएसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने रेगीटेन्समा भने आय बढ्छ । विदेशमा वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानी र पर्यटन क्षेत्रको आयमा समेत वृद्धि हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us