खुकुरामा प्रतिबन्धपछि खसी र माछा महँगो

काठमाण्डु टुडे २०७० साउन २१ गते ६:१८ मा प्रकाशित

काठमाडौँ, २१ साउन । बर्डफ्लु संक्रमणमा कारण सरकारले कुखुरा र कुखुराजन्य पर्था ओसार पसार तथा बिक्री वितरणमा रोक लगाएपछि उपत्यकामा खसीको मासु र माछाको व्यापार ह्वात्तै बढेको छ ।
खपत बढेसँगै खसीको मासु र माछाको मूल्यमा पनि वृद्धि भएको छ । कुखुरा बेच्न प्रतिबन्ध लगाइएसँगै विकल्पमा ग्राहकले खसीको मासु र माछा खान थालेपछि आफ्नो व्यापार बढेको व्यवसायी बताउँछन् । यस्तै कुखुराको मासु खुवाउँदै आएका होटल तथा आवाशीय विद्यालयसमेत खसीको मासु र माछा किन्न थालेपछि ५० प्रतिशतसम्म व्यापार बढेको व्यवसायीको भनाइ छ ।
माग बढेसँगै खसीको मासुमा प्रतिकेजी २५ रुपैयाँले वृद्धि भएको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ । व्यवसायीले हाल खसीको मासु प्रतिकिलो ७ सयदेखि ८ सय २५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । उपत्यकामा यसअघि दैनिक २० हजार किलो खसीको मासु बिक्री हुने गरेकामा हाल बढेर ३५ हजार किलो पुगेको छ ।
यस्तै काठमाडौँको कालिमाटीस्थित तरकारी बजारमा यसअघि दैनिक ८ टन माछा खपत हुने गरेकामा बढेर अहिले १२ टनसम्म पुगेको छ ।

राजधानी आउनेमध्ये ९० प्रतिशत माछा भारतबाट आयात हुने गरेको छ । माछाको व्यापार बढेसँगै माछाको बजार मूल्य हाल प्रतिकेजी २ सय ५० बाट ३ सय ५० रुपैयाँसम्म पुगेको छ ।  यस्तै अवस्था लामो समयसम्म रहिरहे नजिकिंदै गरेको दशैंमा उपभोक्ता चर्को मूल्यमा मासु किन्न बाध्य हुने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us