‘विद्युत विकासकोलागि पूर्वाधारमा जोड देउ’

काठमाण्डु टुडे २०७० भदौ १३ गते ५:१६ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले प्रसारण लाइनलगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन् । काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय जलविद्युत् लगानी बैठकका सहभागीहरूले जलविद्युत्को विकासका लागि पर्याप्त पूर्वाधार पहिलो शर्त भएको बताए । विद्युत् उत्पादन तथा प्रसारण लाइन निर्माण, नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधार, बिजुली उत्पादनमा निजी क्षेत्रको लगानी र वैदेशिक लगानीको उपयुक्त वातावरण निर्माण पनि उत्तिकै अपरिहार्य रहेको उनीहरुको जोड थियो ।

एसियाली विकास बैंकको सहयोगमा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड नेपाल र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले संयुक्त रूपमा आयोजना गरेको बैठक बुधबारदेखि काठमाण्डुमा शुरु भएको थियो । बैठकले विद्युत् व्यापारका निम्ति क्षेत्रीय संवाद तथा सीमापार व्यापारका लागि ठोस कार्य योजना तर्जुमा गर्ने बताइएको छ ।

निरन्तरको विद्युत् भार कटौतीले उद्योगधन्दा सञ्चालनमा नेपाललाई प्रतिकूल असर परेको भन्दै उनीहरूले साना तथा मझौला योजना निर्माणमा सरकार केन्द्रित हुनुपर्ने सुझाव पनि दिएका छन् ।

ऊर्जा सङ्कट सम्बोधन, भविष्यमा ऊर्जा सुरक्षाको सुनिश्चितता, साना तथा मझौला परियोजना निर्माणबाट नै नेपालमा बिजुलीको अभाव अन्त्य गर्न सकिने उनीहरूको धारणा थियो ।

निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीले नेपाल सरकारबाट हालसम्म ५ सय मेगावाट बिजुली निकाल्न अनुमति लिए पनि मुस्किलले २५ मेगावाट मात्र उत्पादन भएको तथ्यांक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us