कुखुरा मार्दा गल्ती भो : सरकार

काठमाण्डु टुडे २०७० भदौ १२ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, १२ भदौ–बर्डफ्लुको आक्रान्त पारेपछि सरकारले काठमाडौं उपत्यकामा धमाधम कुखुरा मार्ने अभियान शुरु गर्यो । सबैभन्दा बढी कुखुरा भक्तपुरमा मारियो । व्यवसायिका फर्मका कुखुरा सबै सिद्धिएपछि अब घरमा पालिएका कुखुरा मार्ने क्रम बिहीबारबाट शुरु हुँदै छ ।

bird flueलाखौं लगानी गरेका कुखुरा व्यवसायी सरकारको अभियान व्यवस्थित र वैज्ञानिक नभएको भन्दै रुष्ट भइरहेका बेला सरकारले पनि गल्ती स्वीकार गरेको छ । पशु सेवा विभागअन्तर्गतको बर्डफ्लु नियन्त्रण अभियानका प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बर्डफ्लु नियन्त्रणका क्रममा सरकारबाट केही त्रुटिहरु भएको स्वीकार गरेका हुन् । मिडिया इन्टरनेशनले बुधबार आयोजना गरेको  ‘नेपालका कुखुरा व्यवसायको चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रियामा प्रवक्ता भट्टराईले संक्रमित क्षेत्रमा कुखुरा मारिए पनि खोर तथा शुली नष्ट गर्न ढिलाइगर्नु सरकारको कमजोरी रहेको बताएका हुन् ।

‘कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने क्रममा केही कमजोरी भएका छन्,’ प्रवक्ता भट्टराईले भने, ‘यो सरकारले बाध्यात्मक अवस्थामा गरेको काम हो ।’ उनले यसबाट व्यवसायीमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले नियमअनुरुप क्षतिपूर्ति दिने आश्वासन पनि दिए ।

प्रवक्ता भट्टराइले बर्डफ्लु संकटग्रस्त क्षेत्रबाट आयात गरिएका वा संक्रमित क्षेत्रको बाटो हुँदै आयात भएका मासुबाहेक अन्य क्षेत्रबाट आएको कुखुराको मासु ढुक्कसँग खान उपभोक्तालाई सुझावसमेत दिएका छन् । अहिले कुखुरामा मात्र बर्डफ्लु देखिएकाले अन्य कुनै पनि पंक्षीबाट यस रोगको खतरा न्यून रहेको दाबी उनको छ ।

कार्यक्रममा कुखुरा विक्रेता संघका अध्यक्ष जंगबहादुर बीसीले कुखुरा व्यवसायबाट ५ लाखभन्दा बढी जनशक्ति विस्थापित हुने र लाखौंको संख्यामा बेरोजगारी बढ्ने खतरा बढेको उल्लेख गरे । उनले भने, ‘दैनिकरुपमा ३ देखि ३ लाख ५० हजार किलो मासु खपत हुने गरेकामा आजभोलि त्यसको मात्रा पुच्छरमा झरेको छ, नेपाली अर्थतन्त्रकै लागि यो घातक हो ।’

यस्तै युवा किसान संघका अध्यक्ष बाबुराम थापाले व्यवसायी र उपभोक्तालाई सहज हुने किसिमले सरकारले कुनै काम नगरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us