म्याग्दीका ३ हजार ४ सय घर झिलीमिली

काठमाण्डु टुडे २०७० भदौ १२ गते ९:२५ मा प्रकाशित

म्याग्दी, १२ भदौ– नविकरणीय ऊर्जाबाट म्याग्दीका ३४ सय घर झिलीमिली भएका छन् । ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट करिब तीन हजार ४ सय घरपरिवार लाभान्वित भएका हुन् ।

जिल्लामा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि जिविसमार्फत सञ्चालित ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट चिमखोला, अर्मन, निस्कोट, रुम, ओखरबोट, देविस्थान, बिम, मुना, मराङ र लुलाङ गाविसमा कार्यक्रममार्फत १६ वटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । ती परियोजनाबाट ३ सय २२ किलोवाट विद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखा म्याग्दीले जनाएको छ ।

लघुजलविद्युत् परियोजनाबाट ग्रामीण बस्तीका तीन हजार ३ सय ६४ घरपरिवार लाभान्वित भएको शाखाका ऊर्जा तथा वातावरण अधिकृत रञ्जन अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लोपटक रुम–६ मा निर्माण भएको ११ किलोवाट क्षमताको छेरवाङखोला लघुजलविद्युत् परियोजनाबाट यही भदौ महिनादेखि विद्युत् उत्पादन सुरु भएको छ ।
म्याग्दीमा २०५६ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ऊर्जा विकास कार्यक्रम सुरु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us