मदिरामा आन्तरिक राजस्वको आँखा

काठमाण्डु टुडे २०७० भदौ ११ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– आन्तरिक राजस्व विभागले मदिरा उत्पादक र वितरण गर्नेलाई विषेश निगरानीमा राख्ने भएको छ । राजस्व र जनस्वास्थ्यमा समेत दूरगामी प्रभाव पार्ने भएकोले विभागले अवैध मदिरा नियन्त्रणको अभियान नै सञ्चालन गर्न लागेको जानकारी दिइएको छ । अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागले नक्कली Inland-Revenue-Department(1)स्टिकर र  अवैध उत्पादन नियन्त्रणमा विशेष निगरानी सुरु गर्ने जानकारी दिएको हो ।
चाडबाडको समयमा अवैध उत्पादन बजारमा जाने र त्यसबाट राजस्व छलिने र जनस्वाथ्यमा नकारात्मक असर पार्ने भएकोले यस्तो अभियान थालिएको विभागका महानिर्देशक टंकमणी शर्माले जानकारी दिए । महानिर्देशक शर्माले अवैध मदिराले राजस्व, शान्ति सुरक्षा र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकोले चाडवाडको समयमा यस्तो मदिरा बिक्री वितरण नियन्त्रण गर्न सवै पक्षले पहल गर्नुपर्ने बताए । इजाजत लिएकाहरुले नै गैरकानुनी काम गरी नक्कली स्टिकरको प्रयोग गरिरहेको जानकारी पनि दिए । विभागले केही समय अघि मुलुकका आठ वटा मदिरा उद्योगमा छापा मारेर नक्कली स्टिकर बरामद गरेको थियो ।
महानिर्देशक शर्माले मदिराको गुणस्तर र स्टिकरको प्रयोगमा कडाइ नगर्दा धेरै मदिर्रा  उद्योगहरु धरापमा परेको जानकारी पनि दिए । सरकारी कागजात किर्ते गर्ने र नक्कली स्टिकर प्रयोग गर्नु नक्कली नोट छाप्नु भन्दा पनि खतरनाक भएको हदैसम्मको कारवाही गरिने चेतावनी दिए ।  महानिर्देशक शर्माले अवैध मदिरा नियन्त्रणका लागि राजधानीका १३ वटा करदाता सेवा कार्यालयसँग समन्वय गरेर काम गर्न प्रहरीसँग आग्रह गरे ।
विभागका उपमहानिर्देशक राममणि दुवाडीले ५० करोड नयाँ स्टिकर छपाइ भैसकेको र सुरक्षा सम्बन्धी फिचरको परीक्षण पश्चात् आगामी साताबाट वितरण गरिने योजना रहेको जानकारी दिए । कार्यक्रममा सशस्त्र प्रहरीका एसपी श्यामकाजी कुँवर, नेपाल प्रहरीका एसपी रामकृष्णलाल साह, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी, नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठ, अवैध मदिरा नियन्त्रण समन्वय समितिका सदस्य सचिव तथा निर्देशक लोकप्रसाद न्यौपाने लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us