अर्थमन्त्रीले भने, ‘‍‍‍….परेको म बेहोरौंला’

काठमाण्डु टुडे २०७० भदौ ११ गते ८:४७ मा प्रकाशित

DSC09076काठमाण्डु, ११ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भन्सार प्रमुखहरुका लागि आयोजित तीनदिने कार्यशालाको समापन कार्यक्रमलाई मंगलबार काठमाण्डुमा सम्बोधन गर्दै मन्त्री कोइरालाले सदाचारलाई आत्मसात् गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
छोटो दूरीका भन्सार कार्यालयबीच पनि समन्वय नहुने र मूल्यांकनमा फरक पर्ने अवस्था आउनु दुखद भएको भन्दै आफूले पारित गरेका सुधार र आचारलाई व्यवहारमा उतार्न निर्देशन दिए । सुरक्षा निकाय र भन्सारबीच सतहमा आउने गरेको द्वन्द्वमा कानुनले दिएको अधिकार प्रयोग गर्न नहिच्किचाउन उनले आग्रह गरे । ‘कार्यक्षेत्रमा तपाईंहरु खट्नुस्, नीतिगत रुपमा के गर्नुपछ म गरौंला । काम गर्नेहरुका लागि पूर्वाधारको कुनै अभाव हुन दिइने छैन,’ मन्त्री कोइरालाले भने ।

सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदीले आन्तरिक राजश्वको तुलनामा भन्सारको अनुगमन प्रणाली फितलो रहेको बताउँदै यार्डको प्रभावकारी ढंगमा अनुगमन हुनुपर्नेमा जोठ दिएका थिए । उनले निकासीलाई प्रोत्साहन दिने सरकारी नीति अनुरुप निकासी व्यापारमा सहजीकरण गर्न आग्रह पनि गरे ।

अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले सही व्यापारलाई प्रोत्साहन र गलत व्यापारलाई नियन्त्रण गरेको अवस्थामा अन्य समस्या न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरे  ।

यसैगरी भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले नेपालको भन्सारलाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजान आफूले सक्दो मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक किशोरजंग कार्कीले जनताको विश्वास जित्ने गरी सदाचारयुक्त भन्सार सेवा प्रदान गर्ने संकल्पकासाथ कार्यशाला समापन गरिएको जानकारी दिए ।

‘सदाचारयुक्त सेवा, व्यापार सहजीकरणलाई टेवा’ भन्ने मूलमन्त्र सहित पाँच बुँदे ललितपुर घोषणापत्र पारित गर्दै कार्यशाला सकिएको हो । घोषणापत्रमा भन्सारमा विषयगत जनशक्तिको प्रवेश, कर्मचारी सरुवामा ऐन नियमको पालना, क्षमता विकास र कर्मचारीमा सकारात्मक सोच पालना गर्ने उल्लेख छ । यसैगरी अन्तर विभागीय समन्वयमा वृद्धि, प्रत्येक दुई महिनामा अर्थ मन्त्रालय अन्तर्गतका निकायहरुसंग संवाद, भन्सार मूल्यांकनलाई बस्तुपरक, आन्तरिक नियन्त्रण प्रणाली चुस्त बनाउने घोषणापत्रमा उल्लेख छ । देशैभरिका भन्सार कार्यालयमा अनलाईन सेवा, अनलाईन अनुगमन र आईपी क्यामेरा कक्ष स्थापना गरी जाँचपासलाई कडाई गर्ने प्रतिवद्धता समेत प्रकट भएको छ । कार्यशालामा देशैभरिका भन्सार प्रमुखहरुको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us