अमेरिका सिरिया माथि आक्रमण गर्ने तयारीमा

काठमाण्डु टुडे २०७० भदौ ९ गते १५:०५ मा प्रकाशित

अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले आदेश प्राप्त भएमा अमेरिकी सेना सिरियाली सरकारमाथि कारवाही गर्न तयार रहने चुनौती दिएका छन । सिरियामा रासायनिक हतियार प्रयोग गरिएको विषयमा वासिङटनले अझै मूल्याङ्कन गरिरहेको जानकारी गराउँदै आइतबार ह्यागेलले त्यस्तो चुनौती दिएका हुन ।

क्वालालाम्पुरमा आइपुगेका प्रतिरक्षामन्त्री ह्यागेलले राष्ट्रपति ओबामाले प्रतिरक्षा मन्त्रालयलाई सबै प्रकारको परिस्थितिका लागि तयार रहन आदेश दिएको बताए । मलेसियाली समकक्षी हिसामुद्दिन हुसेनसँग भेटवार्ता गरेपछि अमेरिकी सेनाले त्यस्तो तयारी गरिरहेको पनि उनले बताए । प्रतिरक्षा मन्त्रालय विकल्पहरू मध्ये कुनै प्रयोग गर्न राष्ट्रपति ओबामाले आदेश दिएमा अमेरिकी सेना तयार रहेको उनले बताए ।
अमेरिकी तथा उसका सहयोगी मुलुकका गुप्तचर संस्थाहरू सिरियाली राष्ट्रपति बसार अल–असादको सेनाले गत साता दमासकस नजिकै रासायनिक हतियार प्रयोग गरेको भनी लागेका आरोपको मूल्याङ्कन गरिरहेका छन । थप प्रमाणहरूको खोजीमा रहेको र ती प्रमाण पाउन धेरै लामो अनुसन्धान नचाहिने पनि उनले बताए ।
अमेरिकी सेनाले राष्ट्रपति बाराक ओबामालाई सिरियामा रासायनिक हतियार प्रयोग गरेको विषयमा विभिन्न सैनिक विकल्प उपलब्ध गराउदै आएको छ । विदेशमन्त्री ह्यागेलले क्वाला लम्पुरबाट इजिप्टका सेना प्रमुखलाई टेलिफोनमार्फत राजनीतिक द्वन्द्वको शान्तिपूर्ण राजनीतिक समाधान खोज्न आग्रह मात्र गरिरहेका छैनन,सिरियाका विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारसँग छलफलमा छन । एसिया–प्रशान्त क्षेत्रमा नयाँ ध्यान केन्द्रित गर्ने नीति रहेपनि अमेरिकाले आफनो ध्यान सिरिया तथा इजिप्टको सङ्कटमा बढाएको छ ।
इरानको चेतावनी
इरानले सिरिया माथि हस्तक्षेप गरेमा अमेरिकाले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । अमेरिकाले आफ्नो सीमापार गरी हस्तक्षेप गरेमा ह्वाइट हाउसले सख्त परिमाण भोग्नुपर्ने इरानका सेना उप प्रमुख मासौउद जजायेरीले चेतावनी दिएका हुन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियार प्रयोग गरेमा सीमापार गर्ने एक बर्ष अघि दिएको चुनौती स्मरण गराउदै इरानी सैनिक अधिकृतले अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेना सिरिया विरुद्ध कारबाही गर्न तयार रहेको चुनौती दिएपछि इरानी सैनिक अधिकृतले त्यस्तो चेतावनी दिएका हुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अमेरिकाका उच्च सुरक्षा अधिकारीहरुसँग सिरियाका बारेमा छलफल गरेका थिए ।
राष्ट्रपति ओबामाले सिरियामा गत बुधबार त्यहाँको सेनाले नागरिकमाथि रासायनिक एवम् घातक हतियारको प्रयोगगरी कम्तीमा पनि एक हजार तीन सय ५० जनाको हत्या गरेको विषयमा छलफल गरेका थिए । सिरियामा भएका हत्याकाण्डमा सिरिया सरकारले के कसरी त्यस्ता हतियारको प्रयोग गरेको हो भन्ने बारेमा तथ्य पत्ता लगाउन पनि ती सुरक्षा अधिकारीहरुलाई ओबामाले सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।
ओबामा क्यामरुन वार्ता
अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सिरियामा रासायनिक हतियार प्रयोगबाट नागरिक हत्याप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन ।
ओबामा र क्यामरुनबीच शुक्रबार भएको ४० मिनेट लामो टेलिफोन वार्तामा सिरियामा भएको लगातार हिंसाले दुबै देशको साझा सुरक्षा व्यवस्थामा नै चुनौती देखा परेको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत बुधबार दमासकसमा नजिकै नागरिकमाथि रासायनिक हातहतियारको प्रयोग गरिएको भन्दै दुबै नेताले गम्भीर चिन्ता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ । सो घटनाप्रति आफूहरूले निरन्तर परामर्श गर्ने र अन्तर्राष्ट्रिय जगतले रासायनिक हतियार प्रयोगमाथि दिएको प्रतिक्रियाको विषयमा पनि छलफल गर्ने वारेमा दुई नेता वीच छलफल भएको छ ।
सन् २०११ को मार्चदेखि राष्ट्रपति बसार अल असादको राजिनामा माग गरी सिरियामा आन्दोलन सुरु भएको हो । पछिल्ला केही महिनायता हेर्दा त्यहाँ महिनामा कम्तीमा पनि पाँच हजारको ज्यान जान थालेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सिरियाली शरणार्थी छिमेकी राष्ट्र लेवनान, जोर्डन र टर्की पुगेका छन भने हाल दक्षिण अफ्रिका र युरोप पनि जाने गरेका छन । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us