कृषिलाई प्राथमिकता दिन सरकारलाई उपराष्ट्रपतिको सुझाव

काठमाण्डु टुडे २०७० भदौ ९ गते १४:०९ मा प्रकाशित

Parmananda Jhaकाठमाण्डु, ९ भदौ ।  उपराष्ट्रपति परमानन्द झाले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बढ्दो जनसङ्ख्या वृद्धिसँगै खाद्यान्नको माग पनि बढ्ने भएकाले सोहीअनुसार उत्पादन वृद्धिको नीति ल्याउनुपर्ने झाको भनाइ छ ।

कृषि पत्रकार समाजले आइतबार काठमाण्डुमा गरेको कार्यक्रममा उनले भने, ‘कृषिप्रधान देश नेपालले खाद्यान्न आयात गर्नुपर्ने परिस्थिति आउनु विडम्बनापूर्ण हो । नेपालको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेको अवस्थामा कृषि क्षेत्रलाई बढावा दिने कार्यक्रम सरकारले ल्याउनुपर्छ ।’

विशेषगरी तराई क्षेत्रमा पर्याप्त सिँचाइको व्यवस्था मिलाउन सके कृषिमा नेपाल आत्मनिर्भर बन्ने झाले बताए । उनले रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीलाई त्यहाँ सिकेको कृषिसम्बन्धी ज्ञानलाई नेपालमा प्रयोग गर्न सुझाव पनि दिए ।

कार्यक्रममा कृषि विकासमन्त्री टेकबहादुर थापा घर्तीले कृषि क्षेत्रको विकासकालागि आवश्यक नीति र कार्यक्रम ल्याउने तयारीमा आफ्नो मन्त्रालय लागेको जानकारी दिए ।
कार्यक्रममा कृषि क्षेत्रमा योगदान पु¥याएकामा मदन राई, योगेन्द्रकुमार कार्की, श्रीकृष्ण अधिकारीलगायतलाई सम्मानसमेत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us