भन्सार छल्नेको तीन पुस्ते खोतल्न निर्देशन

काठमाण्डु टुडे २०७० भदौ ८ गते १३:३७ मा प्रकाशित

काडमाण्डु, ८ भदौ । अर्थमन्त्री शंकर कोइरालाले भन्सार छल्नेहरुको तीन पुस्ते खोतल्न भन्सार अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
भन्सार अधिकृतहरुका लागि भन्सार विभागले गरेको भन्सार व्यवस्थापन र मूल्यांकन गोष्ठीमा शनिबार बोल्दै मन्त्री कोइरालाले भन्सार प्रमुखहरुलाई कानुनले दोषीहरुको shankar koiralaतीनपुस्ते खोतल्न सक्ने अधिकार दिएपनि त्यसतर्फ  कसैको ध्यान नगएकोमा असन्तुष्टि जनाए । ‘जनमानसको नजरमा भन्सारको छवि राम्रो छ्रैन  । संस्थागत र व्यक्तिगत गुनासा आउन कम  भएका छैनन् । हामी चुक्यौं भने भोलि कसैको शिर ठाडो हुने अवस्था रहँदैन । एउटै सामानको जाँचपास भन्सार कार्यालय र हाकिम पिच्छे फरक हुने गरेको छ । यो भन्दा लाजमर्दो अरु के हुन्छ ? मन्त्री कोइरालाले भने, ‘भन्सार मूल्यांकन वस्तुको कारोबार मूल्यको आधारमा गर्नुस् ।’ खुट्टा नकमाई कानुनले दिएको अधिकार प्रयोग गर्न पनि उनले निर्देशन दिए ।
अर्थमन्त्री कोइरालाले सामानको जाँच प्रहरीले गर्ने कि सुरक्षा निकायले भन्ने गम्भीर प्रश्न उब्जिएको बताए । उनले भन्सार अधिकृतहरुले करको लक्ष्य पुयाएर नपुग्ने र दिगो आर्थिक विकासका लागि सहजीकरणको भूमिका खेल्नसमेत आग्रह गरे । भन्सार विकसित र विकासशील मुलुक छुट्याउने आधार भएको स्पष्ट पार्दै कोइरालाले भन्सारलाई आधुनिक र पूर्वाधारयुक्त बनाउन राज्यले धेरै पैसा खर्च गरिसकेको स्मरण गरे ।  कर्मचारीहरुलाई सेवाग्राही मैत्री बन्न पनि उनले सुझाव दिए ।

अर्थसचिव शान्तराज सुवेदीले हवाइजहाजसम्मको भन्सार मूल्यांकन कम हुने गरेको उदाहरण दिँदै कार्यालयभित्रको आन्तरिक नियन्त्रण प्रणाली कसिलो बनाउन निर्देशन दिए । कर्मचारीले गरेको दोषको नैतिक जिम्मेवारी प्रमुखमा पनि जाने भएकाले सचेत हुन सचिव सुवेदीले आग्रह गरे । उनले भन्सार एजेन्टलाई गरिने अनावश्यक विश्वासका कारण धोका हुने गरेका बताए । यार्डभित्रको सम्पूर्ण जिम्मेवारीबाट नभाग्न र त्यसको जिम्मेवारी भन्सार प्रमुखले लिनु पर्ने पनि उनले बताए ।

अर्थ मन्त्रालयका सल्लाहकार डा. चिरञ्जीवी नेपालले यसपटकको बजेटले भन्सारका थुप्रै समस्या निदान गरेको दाबी गरे ।  भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले भन्सार कार्यालयबीच समन्वय नहुँदा समस्या पर्ने गरेको अनुभव सुनाए । महालेखापरीक्षक सुमनप्रसाद शर्माले गुणस्तर सुधार सेवाबाट थालनी हुने भएकाले त्यसतर्पm गम्भीर हुन आग्रह गरे । गोष्ठी सोमबारसम्म चल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us