पीकेको कमाइले राप्रपा नेपालको रथयात्रा ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, १६ पुस– भारतमा हिन्दूवादी संगठनहरूले आमिर खान अभिनित फिल्म ‘पिके’ माथि प्रतिबन्ध लगाउन माग गरिरहेका बेला राप्रपा नेपालले भने Aamir_Khan_PKसोही फिल्म प्रदर्शन गरेर हिन्दू राष्ट्र स्थापना अभियानअन्तर्गत रथ यात्राका लागि खर्च जुटाएको छ।

प्रदर्शनमै आएको दिन पुस ४ गते राप्रपा नेपालका कोषाध्यक्ष उद्धव पौडेलको हल गोपीकृष्णमा पीके प्रदर्शन गरिएको थियो । पहिलो दिन नै फिल्म च्यारिटीका रूपमा प्रदर्शन गरिएको थियो । त्यसका लागि राप्रपा नेपालले १ हजार दरका १ हजार टिकट छापेको थियो । पछि सबै टिकट बिक्री भएपछि थप तीन सय टिकट छापिएको थियो ।

‘रथयात्राको आवश्यक खर्च जुटाउन पीके फिल्म प्रदर्शन गरिएको हो’, राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य दिलनाथ गिरीले भने, ‘त्यसबाट उठेको पैसाले रथयात्राका लागि ठूलो सहयोग गर्यो ।’

गिरीले फिल्म प्रदर्शनबाट १३ लाख रुपैयाँ उठेको बताए । सामाजिक कोष स्थापनाका लागि भन्दै टिकट छापिएको थियो । केन्द्रीय कमिटी सदस्य, सभासद् तथा अन्य नेतालाई टिकट बिक्री गर्ने जिम्मेवारी दिइएको थियो ।

राजकुमार हिरानीले निर्देशन गरेको पीके फिल्मले धार्मिक अन्धविश्वासमाथि प्रहार गरेको छ । हिन्दू धर्मप्रति अनास्था फैलाएको आरोप लगाउँदै उक्त फिल्म प्रदर्शनमाथि रोक लगाउन र अभिनेता खानलाई पक्राउ गर्न भारतमा माग गरिँदै आएको छ । भारतका केही सहरमा उक्त फिल्म प्रदर्शन गरिएका हलमा तोडफोडसमेत भएका छन् ।

पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा गत बुधबार झापामा सुरु भएको रथयात्रा महेन्द्रनगर पुगेर राजधानी फर्किने क्रममा छ । रथयात्रा पुस १८ गते पशुपतिनाथमा पुगेर यात्रा समापन हुनेछ ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us