मलेसियाबाट रित्तो हात फर्केर अपहरणको नाटक गर्ने ताराकुमार पक्राउ

काठमाण्डु टुडे २०७१ पुष ८ गते १५:३१ मा प्रकाशित

kidnap1धनकुटा, ८ पुस– अपहरणको नाटक गर्ने धनकुटाका एक युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा खुवाफोकका ताराकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

हिमालय बैंकको धरान शाखाबाट ५ लाख रुपैयाँ झिकेर घर जाने क्रममा अपरिचित मानिसहरुको एक समूहले ४ पुसमा भानुचौकबाट अपहरण गरी जंगलमा लगेर अपहरण गरी पैसा लुटेर बीच जंगलमा लगेर छाडिदिएको भन्दै परिवारमा खबर गरेका थिए ।

परिवारबाट खबर पाएलगत्तै प्रहरीले उनको खोजी गरेको थियो । तर सामान्य अवस्थामा हिंडिरहेको अवस्थामा उनलाई एक दिनपछि प्रहरीले फेला पार्‍यो ।

प्रहरीका अनुसार बयानका क्रममा उनले साहु र परिवारले पैसा मागेर हैसान गरेपछि अपहरणको नाटक गरेको बताएका छन् ।

उनी १३ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा मलेसिया बसेर फर्केका थिए । उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us