विद्युतीय तारमा नेपाल आत्मनिर्भर बन्दै, उद्योगबाट वार्षिक २२ करोड आम्दानी

काठमाण्डु टुडे २०७१ पुष ४ गते ११:२५ मा प्रकाशित

चितवन, ४ पुस– विद्युतीय तारमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । विद्युतीय व्यवसायी महासंघका अनुसार नेपालमा बाहिरबाट विद्युतीय तार आयात गर्नुपर्ने अवस्था छैन ।

यसै सिलसिलामा चितवनमा पनि युनाइटेड वायर एन्ड केबल उद्योग स्थापना गरिएको छ । १० करोड रुपैयाँ लगानीमा ३५ जना व्यवसायी मिलेर सञ्चालनमा ल्याइएको उद्योगले वार्षिक २२ करोडको सामान उत्पादन गर्ने गरेको जिल्ला अध्यक्ष लेखनाथ सापकोटाले बताए ।

उक्त तार उद्योग चितवनमा एउटै भएको पनि उनले जानकारी दिए । यसअघि गैंडाकोटमा रहेको त्रिशक्तिले तार उत्पादन गर्दै आएको छ । तर, कच्चा पदार्थमा भने नेपाल विदेशीकै भर पर्नुपरेको महासंघका प्रथम उपाध्यक्ष तेजनारायण खरेलले जानकारी दिए ।

नेपालमा वार्षिक ४० अर्बको कारोबार विद्युतीय क्षेत्रमा हुने गरेको व्यवसायीले बताएका छन् ।

उनीहरुका अनुसार बाहिरबाट आयात गर्दा तयारी सामान र कच्चा पदार्थको भन्सार एकै भएकाले नेपालमै उत्पादित सामग्रीको बजारमा समस्या परेको छ । यस्ता नीतिगत समस्यामा सरकारले ध्यान दिनुपर्नेमा खरेलले जोड दिए ।

नेपालमा तार उत्यादन गर्ने पोखरा, बारा, नवलपरासी, विराटनगर नेपालगन्ज चितवनलगायत क्षेत्रमा २२ वटा उद्योग सञ्चालनमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us