
बागलुङ, ४ पुस– बागलुङ नगरपालिका–१ स्थित यस क्षेत्रकै प्रख्यात बाङ्गेचौर खेल मैदानको स्तरोन्नति कार्य सुरु भएको छ ।
७५ वर्षदेखि गौचरन, मेलास्थल हुँदै खेल मैदानमा परिणत भएको बाङ्गेचौरलाई मापदण्डअनुरुपको बनाउन लागिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को १० लाख र बागलुङ समाज (युके) को दुई लाख ३० हजार सहयोगमा खेल मैदानको पुनःनिर्माण थालिएको छ ।
मैदान फराकिलो र समथर पारेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।
पछि मैदानमा दुबो रोप्ने, प्याराफिट बनाउने र रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । डोजर प्रयोग गरेर मैदान सम्याउने काम भइरहेको छ ।
मर्मत तथा स्तरोन्नतिका लागि विनियोजित बजेट अपुग भएमा सरकारी तथा गैरसरकारी संस्थाहरुका सहयोग जुटाइने अध्यक्ष शाक्यले जानकारी दिए ।