
जाजरकोट, ३ पुस–यस वर्ष जाजरकोटमा करिब साढे १८ करोडको मह उत्पादन भएको छ । जिल्लाका विभिन्न गाउँमा किसानले गरेको व्यावसायिक मह उत्पादन गत वर्षभन्दा ८२ प्रतिशतले बढेपछि किसान निकै खुसी भएका छन् ।
जिल्लाको सदरमुकाम खलङ्गाको पिपे र डाँडागाउँ गाविसको पाली र कल्पत गाउँमा मात्र यस वर्ष १८ करोड ६० लाखको मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख मुकेश राम्जालीले दिएको जानकारीअनुसार यस वर्ष व्यावसायिक रुपमा मह उत्पादनमा लागेका नौ सय किसानका पाँच हजार आठ सय १५ वटा घारमा ४६ हजार पाँच सय २० किलो अर्थात् ४६.५२ मेट्रिक टन मह उत्पादन भएको छ ।
यो गत वर्षको भन्दा ८२ प्रतिशतले बढी हो । मह उत्पादनका लागि मौसम उपयुक्त भएका कारण यस वर्ष धेरै मह उत्पादन भएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।
समयमा पानी परेको र माहुरीलाई मह सङ्कलनका लागि फूलहरु प्रशस्त मात्रामा फुलेको हुनाले आफूले गत वर्षभन्दा यस वर्ष धेरै मह उत्पादन गरेको डाँडागाउँ वडा नं. २ पालीका किसान सेते बुढाले बताए । यस वर्ष ७५ वटा घारबाट चार सय किलो मह उत्पादन गरेको उनले बताए ।
बुढा जस्तै पालीकै भविलाल परियारले पनि ६० वटा घारबाट दुई सय ५० किलो मह उत्पादन गरेको बताए । अहिले जिल्लामा महको मूल्य प्रतिकिलो चार सय र बाहिर छ सय सम्म रहेको किसान बताउँछन् । रासस