छिम्केश्वरी होमस्टेमा पर्यटक बढे

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ७:०३ मा प्रकाशित

तनहुँ, १७ मंसिर– पर्यटकीय गाउँको रुपमा परिचित तनहुँको छिम्केश्वरी गाविसको हिलेर्खकमा बिजुली सेवा विस्तारपछि पर्यटक आगमनमा वृद्धि भएको छ ।
Chhimkeswori
गत वर्षदेखि सो गाउँमा सञ्चालन गरिएको होमस्टेमा बिजुलीको सेवा विस्तारपछि हालसम्म बाह्य र आन्तरिक गरी करिब एक हजार पर्यटकले बास बसेको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश गुरुङले बताए ।

उक्त स्थानमा लामो समयपछि बिजुली सेवा नपुग्दा हिलेखर्कवासी चिन्तित भएका थिए ।

ग्रामीण विद्युतीकरणअन्तर्गत जिविस तनहुँको ऊर्जा तथा वातावरण कार्यक्रमअनुरुप बिजुली सेवा विस्तार गरेपछि सो गाउँको मुहार फेरिएको हो ।

जिल्लाको आँबुखैरेनीस्थित मार्कीचोकबाट केन्द्रीय विद्युत् प्रसारणलाइनबाट करिब तीन किलोमिटर लामो दूरीबाट वितरण लाइन टाँगेर बिजुली सेवा विस्तार गरिएपछि झन्डै ७० घर गुरुङबस्ती लाभान्वित भएको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

उक्त गाउँका १० वटा घरमा होमस्टे सञ्चालन गरिएकामा उज्यालो नहँुदा सास्ती खेप्न बाध्य स्थानीय एवम् पर्यटकका लागि सहज भएको गुरुङले बताए ।

करिब १९ लाख रुपैंयाको लागतमा सम्पन्न भएकामा रु १० लाख  सरकारको अनुदान, गाविसबाट रु एक लाख र अन्य स्थानीय श्रमदान रहेको जिल्ला विकास समिति ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।

जिल्लाको देउराली–४ मा रहेको हिलेखर्क गाउँ पछिल्लो समयमा पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदै गएको बताइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us