इलाम, १७ मसिर– विद्यार्थी संख्या कम भएका कारण जिल्लाका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व संकटमा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण यहााका ४८ वटा प्रावि बन्द हुने अवस्थामा पुगेका हुन् । ती विद्यालयमा न्यूनतम चारदेखि अधिकतम २० जना मात्र विद्यार्थी छन् ।
विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात नमिलेको जिशिकाले जनाएको छ । सूर्याेदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्रावि माघेमा पाँच जना विद्यार्थीका लागि तीन जना शिक्षक कार्यरत छन् ।
यस्तैगरी सोही नगरपालिकाको फिक्कल आहालेमा रहेको कृष्ण प्राविमा सात जना विद्यार्थीका लागि चारजना शिक्षक छन् । ‘विद्यार्थी अनुपातमा शिक्षक बढी देखिएका छन्, विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयमा बढी भएका शिक्षकलाई अन्य विद्यालयमा पठाउाछौं’, जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले भने । शिक्षक विद्यार्थी अनुपात अत्यन्तै कम भएको देखिएकाले दरबन्दी मिलान गर्न लागिएको छ ।
सिद्धार्थ प्रावि सााखेजुङ, पुवामाई प्रावि सााखेजुङ, शान्ति प्रावि समालबुङ, अरनिको प्रावि रक्से, लालीगुराास प्रावि माईमझुवामा १० जनाभन्दा कम विद्यार्थी अध्ययनरत रहेको जिशिकाको तथ्यांकमा उल्लेख छ । शिक्षा नियमावलीमा ४५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने उल्लेख छ । शिक्षा कार्यालयले भने २३ जना न्यूनतम विद्यार्थी भएकामा पनि अनुमतिका लागि सिफारिस दिने गरेको छ । तर पाँच विद्यार्थी भएका ठाउामा पनि तीन शिक्षक अझै कार्यरत देखिएको छ ।
निम्नमाध्यमिक तह र माध्यमिक तहमा शिक्षक दरबन्दी नपुगेर निजी तथा अन्य स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था रहेको छ । तर अर्कातिर प्राथमिक तहमा शिक्षक विद्यार्थीबिना नै बसिरहेका छन् । प्रावि तहमा विद्यार्थी अनुपातमा शिक्षक राख्ने हो भने सबै विद्यालयमा शिक्षक अभाव नहुने जिशिअ गौतमले जानकारी दिए ।
सूर्याेदय प्रावि श्रीअन्तु, राष्ट्रिय प्रावि जौवारी जमुना, सूर्याेदय प्रावि मावुमा ११/११, सिंहदेवी प्रावि जितपुर, अमरज्योति प्रावि जितपुर र महमाई प्रावि बरबोटेमा १२/१२, भानुभक्त प्रावि समालबुङ, लालीगुराास प्रावि जोगमाई र जनज्योति प्रावि फाकफोकमा १३/१३ जना विद्यार्थी अध्ययनरत छन् । १४ जना विद्यार्थी भएका तीन, १५ जना विद्यार्थी भएका चार, १६ जना विद्यार्थी भएका तीन, १७ जना विद्यार्थी भएका चार, १८ जना विद्यार्थी भएका दुई, १९ जना विद्यार्थी भएका सात र २० जना विद्यार्थी भएका सात वटा प्रावि गरी ४८ वटा रहेका छन् ।
ती विद्यालयमा छात्रा ३२९ र छात्र ३७४ जना रहेका छन् । यसअघि पनि विद्यार्थी संख्या न्यून भएका एक दर्जन प्राथमिक तह जिशिकाले नजिकैको निमावि र माविमा गाभेको थियो । विद्यालयबाट प्राप्त तथ्यांकमा विद्यार्थी संख्या न्यून देखिए पनि केही विद्यालयमा फर्जी विद्यार्थी संख्या पेस गरेको हुनसक्ने जिशिकाले जनाएको छ ।
विद्यालय स्वीकृत गराएर दरबन्दी र भौतिक संरचनाको व्यवस्था हुँदा पनि विद्यार्थी संख्या दिनदिनै घट्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती पनि सँगसँगै थपिएको छ । रासस