तनहुँ, १४ मंसिर– गुञ्जमान कोइराला । जसले सुरु गरेका थिए सत्र सयको लगानी र अहिले भएका छन् करोडको मालिक । झट्ट सुन्दा अचम्म लाग्न सक्छ जम्मा सत्र सयको लगानीबाट करोडपति भएको भन्दा समाचार । तर कुरा सत्य हो ।
तनहुँ ब्यास नगरपालिकाका ५२ वर्षीय गुञ्जमान कोइरालाले २०४५ सालमा दमौलीमा कृषि बीउबिजनको व्यवसाय थालेका थिए । दुई वर्षसम्म व्यवसायबाट त्यति राम्रो प्रगति नभएपछि व्यवसाय छाडी पुनः २०४७ सालदेखि सोही व्यवसाय सञ्चालन गरे । उनी छिमेकी जिल्ला गोरखा नगरपालिका–४ घर भई हाल तनहुँको ब्यास नगरपालिका–१० स्थित सफा सडकमा पशुपति बीज भण्डार सञ्चालन गर्दै आएका हुन् ।
नम्र, हाँसेर बोल्ने बानी, कठोर परिश्रम, सबैजनासँग मिलनसार र समान व्यवहार गर्ने व्यक्तित्व भएका कारण पनि छोटो अवधिमा सफलतामा पुग्न सकेको उनको दाबी रहेको छ ।
उनी भन्छन्, ‘जीवनमा कति दुःख र कष्ट भोगियो तर कहिल्यै हरेस खाइएन, मलाई अहिले गर्व लाग्छ हिम्मत र साहसका साथ काम गर्दा सफल भइँदोरहेछ ।’ सामान्य अध्ययन भएको बताउने उनले उक्त व्यवसायबाट ब्यास नगरपालिका–२ स्थित डाँग्रीखोल्सी नजिक झन्डै दुई करोड बराबरको घर निर्माण गरेका छन् ।
विभिन्न सङ्घसंस्थामा आबद्ध, वित्तीय संस्थामा आबद्ध तथा सेयर लगानी गर्दै आएका कोइराला २०६७÷०६८ मा भएको दमौली बजार एकाइ समितिमा निर्वाचित सदस्य बनेका थिए ।
त्यसैगरी दमौली बजार एकाइद्वारा आयोजना गरिएको दमौली महोत्सवमा बजार व्यवस्थापन संयोजक, तनहुँ महोत्सव २०७० मा कृषि उपज बेचबिखन संयोजक, तनहुँ महोत्सवमा बजार सजावट संयोजकसमेत बनेको कोइराला बताउँछन् ।
त्यसैगरी, मङ्सिर १३ र १४ गते दमौलीमा भएको दमौली बजार एकाइको १९औँ साधारणसभा तथा ९औँ अधिवेशनमा जिल्ला प्रतिनिधिका रुपमा उम्मेदवारी दिएका उनी आफू विजयी हुनेमा समेत विश्वस्त छन् ।
रासस