काठमाण्डु, १३ मंसिर– नेकपा–माओवादीसँग केही दिनअघि सम्बन्ध विच्छेद घोषणा गरेको नेक्रविक्रम चन्द पक्षले नयाँ पार्टी घोषणा गरेको छ ।
चितवनमा तीन दिनसम्म बसेको उक्त समूहको बैठकले चन्दको संयोजकत्वमा पार्टी घोषणा गरेको हो ।
पार्टीको नाम भने बीचको ड्यास हटाएर युद्धकालिन नेकपा माओवादीकै जस्तो नाम राख्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
चितवनको एक गाउँमा भएको गोप्य भेलाले आगामी पुस २१ मा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
अहिले चन्दलाई संयोजक तोकिएको र पार्टीको पूर्ण संरचना राष्ट्रिय सम्मेलनबाट चयन गरिने ती सदस्यले बताए । यसअघि एउटै पार्टीमा हुँदा चन्द सचिव थिए ।
भेलामा पूर्ण र वैकल्पिक गरी ६२ जना सहभागी रहेको दाबी सो पक्षले गरेको छ ।
मोहन वैद्यको नेतृत्वमा पार्टी अगाडि बढ्नै नसक्ने र वर्ग संघर्षको नेतृत्व पनि गर्न नसक्ने निष्कर्षसहित ७ मंसिरमा सो पक्षले पार्टी छाडेको थियो ।