
एजेन्सी– विश्वप्रसिद्ध फुटबल खेलाडी पेले बिरामी परेको खबरबाट उनका प्रशंसकहरु दुःखी भएकै बेला उनले ट्वीट गरेर आफू निको हुँदै गरेको लेखेका छन् ।
ब्राजिलका ख्यातीप्राप्त यी फुटबल खेलाडी मुत्र नलीमा संक्रमण भएपछि साओ पाओलोको एक अस्पतालको विशेष केयर युनिटमा भर्ना भएका थिए ।
ब्राजिलको साओ पाओलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गरिरहेका ७४ वर्षीय पेलेले ट्वीटमा लेखेका छन्, ‘म ठीक हुँदैछु । अब केही पिर गर्नुपर्दैन, म तपाईंहरु सबैको माया र साथ पाएर हाँसीखुशी नै छु ।’
उनले ट्वीटमा आफ्ना प्रशंसकहरुलाई धन्यवाद पनि दिएका छन् । पेलेले छिटै निको भएर आफ्नो परिवारसँग बिदा मनाउने र नयाँ वर्षको स्वागत गर्ने आशा पनि व्यक्त गरेका छन् ।
पेलेले तीन पटकसम्म विश्वकप जितेको ब्राजिली टिमका खेलाडी हुन् । उनी संलग्न ब्राजिलको टिमले सन् १९५८, १९६२ र १९७० मा विश्व कम जितेको थियो । पत्थरीको शल्यक्रियाका लागि उनी केही दिनअघि आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए ।
पेलेले आफ्नो २१ वर्षको खेल जीवनमा १,३६३ खेल खेलेका थिए भने १,२८१ गोल गरेर रेकर्ड राखेका थिए । फिफबाट उनी शताब्दी खेलाडीको उपाधि पाएका छन् ।