चितवन, ३ मंसिर– विगत चार महिनायता ब्रोइलर कुखुराको मासुको मूल्य ओरालो लागेपछि कृषक नराम्रो गरी प्रभावित भएका छन् ।
दाना, चल्ला, औषधि, कामदार लगायतको मूल्य आकासिँदै जाँदा आफ्नो उत्पादन भने घटेपछि कैयाँै कृषक यो पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् ।
प्रतिकिलो कुखुरा उत्पादनका लागि रु १७५ खर्च हुनेमा अहिले जिउँदो कुखुराको मूल्य रु ११५ देखि १३० सम्ममात्र छ । कृषकले रु ५० देखि ६० सम्म प्रतिकिलो नोक्सान व्यहोर्दै आएको जनाएका छन् ।
पूर्वी चितवनको पिठुवामा छ हजार कुखुरा पाल्दै एका बद्री खनालले विगत लामो समयदेखि मूल्य ओरालो लागेपछि ठूलो नोक्सान व्यहोरेको बताए । पन्ध्र बीस दिनदेखि खोरमा कुखुरा हाल्न नसकेको बताउँदै उनले आधाभन्दा बढी ब्रोइलर कुखुरापालक कृषक विस्थापित भएको बताए ।
साना किसानले ब्रोइलर कुखुरा बढी पाल्ने गरेकामा एकोहोरो मूल्यमा कमी आएपछि धेरैको अवस्था बिजोग बनेको खनाल बताउँछन् । ब्रोइलर कुखुरा ३८ देखि ४२ दिनमा खान योग्य हुन्छ ।
त्यसपछि पाल्दा दाना खर्च भए पनि आम्दानी नबढ्ने व्यवसायी बताउँछन् । भरतपुरको कैलाशनगरमा सात हजार ५०० कुखुरा पाल्दै आउनुभएका चन्द्रप्रसाद सिग्देल एकै वर्षमा २५ लाखभन्दा बढी नोक्सान भएपछि दोमनमा छन् ।
अहिले बजारमा रु १८० देखि २२० सम्ममा तयारी मासु बिक्री हुँदै आएको छ । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष शङ्करप्रसाद कँडेल मागभन्दा उत्पादन बढी हुँदा मूल्य घटेको बताउँछन् ।
गत वर्ष मूल्य बढेकाले कृषकले धेरै कुखुरा पाल्दा बजारमा बिक्री हुन सकेको छैन । अहिले नेपाली बजारको माग दैनिक पाँच लाख किलो भए पनि उत्पादन छ लाख किलोभन्दा बढी भएकाले मूल्य पाउन नसकेको कँडेलको भनाइ छ ।
लुकाएर भित्रिएको भारतीय चल्ला र मासुका कारण पनि नेपाली बजार प्रभावित भएको उनको भनाइ छ । भारतमा दाना, चल्ला, औषधि, विद्युत्लगायत सस्तो हँुदा त्यहाँको उत्पादन नेपाली तुलनामा निकै सस्तो छ ।
व्यवसायीका अनुसार भारतमा प्रतिकिलो मासु नेपाली रु १०० मा उत्पादन हुन्छ । त्यसैगरी चल्लाको लागत पनि निकै सस्तो छ । तिनै चल्ला र मासु नेपालमा अवैध रुपमा भित्रिएपछि बजार प्रभावित हुने उनीहरू बताउँछन् ।