
काठमाण्डु, २ मंसिर – अमेरिकी आकाशमा पहिलो पटक चीनमा बनेको जहाज उड्ने भएको छ । क्यालिफोर्निया स्थित कप्टरभिजन कम्पनीले वाई–१२ नामक २० वटा चिनियाँ जहाज खरिद गर्न लागेको हो ।
चीनमा निर्मित जहाज अमेरिकाले खरिदेको यो पहिलो पटक हो ।
अमेरिकामै चिनियाँ जहाज किनिनु चिनियाँ जहाज कम्पनीको उपलब्धि भएको चिनियाँ वायु सेवा एभिकप्टरका विक्री विभागका निर्देशक लि जियान्झेले सञ्चारमाध्यमहरूलाई बताएका छन् । एभिकप्टर वाई–१२ जहाज उत्पादन गर्ने कम्पनी चीन वायुसेवा कर्पोरेसन हो ।
केही समयअघि नेपाल वायु सेवा निगमले पनि १९ सिटे यस्तै जहाज किनेको थियो । नेपालले किनेको वाई–१२ नामकै जहाज अमेरिकाको कप्टरभिजनले खरिद गर्ने भएको हो ।
नेपालमा चिनियाँ कम्पनीको जहाजको क्षमता तथा गुणस्तरमाथि विभिन्न कोणबाट प्रश्न उठाइएको थियो । चिनियाँ उत्पादनमा विश्वास गर्न नसकिने भन्ने तर्कको खण्डन हुने गरी अमेरिकी वायुसेवा कम्पनीले चिनियाँ उत्पादन किन्ने निर्णय लिएको छ ।
अमेरिकी बजारमा गाडीको पनि राम्रो बजार नबनाएको भनिएको चीनले अब जहाज नै बेच्दैछ ।
वाई–१२ नामक जहाज थुप्रैपटक चीनबाहिर दुर्घटना भएको भए पनि त्यो जहाजभित्रैको खराबीले नभएको कम्पनीले जनाएको छ ।
जनवादी गणतन्त्र चीनले यसअघि श्रीलंका, नेपाल लगायत दक्षिण एशिया, पूर्वी एशिया, अफ्रिका र ल्याटिन अमेरिकालाई मात्रै वाई–१२ जहाज बेच्दै आएको थियो ।