कहाँ लगिँदै थियो नौ सय केजी सुपारी ?

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ६:१३ मा प्रकाशित

सिरहा, १ मंसिर– प्रहरीले गएराति भारततर्फ पैठारी गर्न लगिरहेको अवस्थामा नौ सय केजी सुपारी बरामद गरेको छ । सुपारी कसले कहाँ लग्दै थियो भन्ने खुलेको छैन ।

विशेष सुराकीका आधारमा फुलकहाकट्टी–५ बाट १५ वटा बोरामा प्याक गरिएको ९०० केजी सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन् । तस्कर भने फरार भएका छन् ।

प्रहरीका अनुसार बरामद सुपारी अन्दाजी दुई लाख २५ हजार रुपैंया मूल्य बराबरको छ । ‘ठूलो परिमाणमा सुपारी भारततर्फ लैजाने तयारीमा छ भन्ने सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो,’ प्रहरी निरीक्षक निरौलाले भने, ‘तर टोलीलाई हेर्ने बित्तिकै तस्कर सुपारी छाडेर भाग्यो ।’

सुपारी बरामद गरी प्रहरी कार्यालय ल्याएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us