इजरायली प्रविधि चितवनमा, डेढ करोड लगानी

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १२:१८ मा प्रकाशित

चितवन , २९ कात्तिक – चितवनको चित्रवन नगरपालिका स्थित शशिनगरमा विभिन्न क्षेत्रका युवा मिलेर इजरायली प्रविधिको प्रयोग गर्दै तरकारीखेती सुरु गरेका छन् ।

हाल इजरायलमा काम गरिरहेका र इजरायलबाट फर्किएका युवा मिलेर यहाँ डेढ करोडको लगानीमा तरकारीखेती सुरु गरेका छन् भने दुई करोड लगानी गर्ने लक्ष्य रहेको उनीहरुले बताएका छन् ।

उनीहरुले टनेल नै बनाएर अनि थोपा सिँचाइ र झोल मलको समेत प्रयोग गरेर खेती सुरु गरेको तरकारीको रेखदेख गर्दै आएका किरण सिंहले जानकारी दिए ।

उनी इजरायलमा आठ वर्षसम्म तरकारी र नर्सरी व्यवस्थापनमा काम गरेर फर्किएपछि व्यवसायमा सक्रिय हुनुभएको हो । तरकारीखेती हेर्दै आकर्षक देखिन्छ । झार मार्न प्लाष्टिकको समेत प्रयोग गरिएको छ ।

उनका अनुसार यहाँ पौरखी इन्भेष्टमेन्ट प्रालि नै स्थापना गरेर तरकारीखेतीसँगै बङ्गुरपालन, बाख्रापालन र माछापालनसमेत सुरु गरिएको छ । उक्त कम्पनीमा अहिलेसम्म ३६ जना सेयर सदस्य भएका छन् ।

त्यसमध्ये दुईजना उक्त खेतीमा सक्रिय भए पनि अन्य ३४ जना सबै इजरायलमै छन् ।

इजरायलमा करिब आठ वर्ष तरकारीखेतीमा काम गरेर आउनुभएका सिंहले त्यहाँ सिकेको सिप उपभोग गरेर खेती सुरु गरेको बताए । हाल यहाँ १० बिगाहामा तरकारीखेती, दुई बिगाहामा माछापालन, १० कट्ठामा बङ्गुरपालन र बाख्रापालन सुरु गरिएको व्यवसायी किरण सिंहले जनाए ।

उनले नेपालमा मूल्य निर्धारण, क्षतिपूर्ति, परीक्षण र गुणस्तरीय औषधिको अभाव भएको बताए ।

गएको चैतबाट सुरु भएको तरकारीखेतीमा अहिले गोलभेँडा लहलह भएर फैलिएको छ । तर विगतमा चारदिन लगातारको वर्षाले प्रभावित पारेको उनले उल्लेख गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us