
काठमाण्डु, २४ कात्तिक – कुवेतमा जारी एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक कुवेतलाई २२६ रनको फराकिलाे अन्तरले सानदार जित हात पारेकाे छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको हो। ३२६ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको आयोजक कुवेत २७.४ ओभरमा अल आउट हुँदै मात्र ६३ रनमा समेटियो।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश श्रेष्ठ, इस्राहिद अहमदले र सुनिल धमलाले समान २-२ तथा आरिफ शेख, सुनिल कँडेल, इस्राहिद अहमदले १- १ विकेट लिए।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ८७ रनको योगदान दिए। १११ बल खेलेका शेखले ६ चौका प्रहार गरेका थिए।
सौरभ खनाल र दिपेन्द्र सिंह ऐरीको जोडी चम्केपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको हो। ऐरीले १९ बल खेल्दै बिस्फोटक ब्याटिङ गरेर ४९ रन बनाए।
उनले ४ छक्का र २ चौका प्रहार गरेर रन आउट भए। यस्तै अन्तिम सम्म टिकेका खनालले ३४ बल खेल्दै ६४ रन बनाए। उनले चार चौका र २ छक्का प्रहार गरे।
कुबेतका लागि साहरुख कुदुसले दुई विकेट लिएका थिए। त्यस्तै युसुफ, बासाम, मोहम्मद मिजान अली र मोहम्मद वसीफ मुकादमले एक एक विकेट लिए।
यसअघि हिजो भएको आफ्नो पहिलो खेललमा नेपालले साउदी अरबियालाई १ सय ९५ रनको विशाल अन्तरले पराजित गरेको थियो।