म्याग्दी), २३ कात्तिक – दुवै मिर्गौलाले काम नगरेपछि गम्भीर बिरामी भएका म्याग्दी पात्लेखेत–९ वाखेतका लालबहादुर बुढाथोकीलाई बेलायतमा रहेका म्याग्देलीले ३० लाख आठ हजार ६६० रकम सहयोग पठाएका छन् ।
स्थानीय घारसुन्ना लालीगुराँस युवा क्लब वाखतेको पहल तथा बेलायतमा रहेका ओमबहादुर रोकाको संयोजकत्वमा सङ्कलन भएको रकम पीडित बुढाथोकीलाई हस्तान्तरण गरिएको लालबहादुर बुढाथोकी बचाउ अभियानका संयोजक अमर रोकाले बताए । ‘मानवीय सहयोगमा म्याग्देलीले देखाइरहेको सक्रियताले जिल्लाको प्रतिष्ठा बढाएको छ,’ रोकाले भने ।
बेलायतको विभिन्न स्थान तथा व्यक्तिबाट सहयोग सङ्कलन गर्न धनकुमारी रोका, खड्क सिंह थापा, नुनु थापा, अमर रोका, हरिमाया राम्जाली, अपिन रोकालगायतले सक्रियता देखाएका थिए ।
बुढाथोकीको उपचारका लागि यस अगाडि बेलायतमै रहेकी धनमाया बुढाथोकीले एक लाख २३ हजार रकम सहयोग गरिससकेकी छिन् । शिक्षण अस्पतालमा उपचाररत बुढाथोकीको मिर्गौला प्रत्यारोपणका लागि विभिन्न देशमा समेत सहयोग सङ्कलन भइरहेको छ ।
रासस