नेप्से १६ अङ्कले ओरालो

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक – गत साताको तुलनामा यस साताको नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको छ ।

nepseगत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.१२ अङ्कले घटेर अन्तिम दिन ९३०.२१ अङ्कमा पुगेको थियो ।

स्टक एक्सचेन्जमा १६२ कम्पनीको १० हजार १० कारोबारबाट रु एक अर्ब आठ करोड सात लाख २८ हजार बराबरका २४ लाख ९३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.२१ प्रतिशत बढी हो ।

गत साता १५२ कम्पनीको आठ हजार ६५४ कारोबारबाट रु ९९ करोड ९० लाख ४६ हजार बराबरका २० लाख २४ हजार १६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

समूहगत परिसूचकका आधारमा उत्पादनमूलक क्षेत्रमा सुधार आएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन । अन्य समूहको परिसूचक नकारात्मक छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.३९ अङ्कले घटेर १९२.६९ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्या (६३५ वटा) को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुल्ला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us