अरिङ्गालको टोकाइबाट मृत्यु भएका परिवारलाई अमेरिकाबाट दुई लाख

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ३:३२ मा प्रकाशित

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडा घतानमा दाउरा काट्न जाने क्रममा अरिङ्गालले चिलेर मृत्यु भएका दल पुरीका चारवटा छोरीलाई एक व्यक्तिले दुई लाख पाँच हजार सहयोग गरेको छ ।
हाल अमेरिकामा रहेका सोलुखुम्बुका फुर्वा शेर्पाले आफ्ना साथी आचार्य सार्की शेर्पामार्फत उक्त रकम सहयोग गरेका हुन् ।

बुधबार मृतक पुरीको गाउँ काउलेगौडामा आयोजित कार्यक्रममा नेपाल बौद्ध महासङ्घका कार्यालय सचिव आचार्य सार्की शेर्पाले स्थानीयवासी तथा केवाइसी क्लब घतानका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा आमाबुबाको मृत्युपछि बेसहारा बनेका पुरीका चारवटी छोरीको शिक्षादीक्षा र लत्ताकपडाका लागि बर्सेनि भाइटिकाका दिन ५० हजार उपलब्ध गराउने पनि शेर्पाले बताए ।
गत कात्तिक १ गते अरिङ्गालले टोकेर एक परिवारका ५५ वर्षीय दल पुरी, ४८ वर्षीया श्रीमती शिव पुरी र १२ वर्षीय छोरा आशीष पुरीको  निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us