
दार्चुला , १९ कात्तिक – दार्चुलामा अहिले वार्षिक पाँच लाखसम्मको बीउ खपत हुने गरेको छ । पछिल्लो समय जिल्लाका किसानले उन्नत जातको बीउ माग गर्न थालेपछि बीउ खपत बढी हुन थालेको हो । साथै तीन लाखभन्दा बढीको बीउ भारततिर पनि निर्यात हुने गरेको छ ।
दार्चुलाका कृषकले अझै आधुनिक खेती प्रणाली नअङ्गालेका भए पनि उन्नत जातको बीउ भने प्रयोग गर्ने क्रम बढ्न थालेको दार्चुला सदरमुकाम खलङ्गामा सञ्चालित जोशी एग्रोभेटका सञ्चालक नवराज जोशीले बताए ।
विभिन्न अन्नबाली तथा मौसमी र बेमौसमी गरी वार्षिक रु पाँच लाखको बीउ जिल्लामै खपत हुन थालेको तथा रु तीन लाखको बीउ भारत निर्यात हुने गरेको जोशीले जानकारी दिए । उन्नत जातको बीउबाट फल राम्रो हुन थालेपछि दार्चुलाका कृषकले उन्नत जातको बीउ बढी लगाउन थालेको उनको भनाइ छ ।
धनगढी तथा महेन्द्रनगरबाट आफूले उन्नत जातको बीउ ल्याउने गरेकोमा अहिले जिल्लाका कृषकले उत्पादन गरेको बीउसमेत खरिद गर्ने गरेको जोशीले बताए । रासस