हेर्दाहेर्दै यसरी जल्यो राँके बजार …..

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १०:२१ मा प्रकाशित

पाँचथर, १९ कात्तिक – इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा भीषण आगलागी भएको छ ।

ilam bazarबुधबार बिहान लागेको आगलागीबाट इलाम र पाँचथर दुवैतर्फका गरी ९ घर जलेर नष्ट भएका छन् । आगलागीबाट इलाम चमैता–२ का विष्णु मुखिया, चन्द्र गुरुङ, नेत्र लामिछाने र रामदेव राई, पाँचथर पौवासारताप–७ का मणिकुमार चेम्जोङ, राजेन्द्र गौतम, गुप्त चेम्जोङ, कुमार तामाङ र मुक्ति आचार्यको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

आगलागीबाट करिब पाँच करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विष्णु मुखियाको घरबाट सुरु भएको आगलागी स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वारुण यन्त्रको सहयोगमा करिब तीन घन्टापछि नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका क्रममा दुई घर भत्काइएको थियो । आगलागीबाट मेची राजमार्गअन्तर्गत पाँचथर, ताप्लेजुङ र तेह्रथुमबाट झापातर्फ जाने र विपरीत दिशाबाट आइरहेका दर्जनौँ सवारीसाधन रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए ।

आगो नियन्त्रणपछि सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । आगलागीबाट राँके बजार क्षेत्रमा विद्युत् अवरुद्ध पारिएको छ । नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । पीडितलाई राहत र पुनःस्थापना गरिने प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us