दुई क्विन्टल गाँजा भारत लगिँदै थियो…

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ९:४२ मा प्रकाशित

हेटौँडा, १९ कात्तिक– दुई क्विन्टल गाँजा बोकेर भारततिर जाँदै गरेको ट्यांकर बुधबार मकवानपुरमा समातिएको छ । दुई क्विन्टल ५० केजी गाँजासहित दुईजना भारतीय नागरिक र दुई जना नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको पटनाबाट दैनिक हेटौँडा औद्योगिक क्षेत्रमा दूध ल्याउने भारतीय प्लेटको बिआर–१ एमडी ३६०७ नंको ट्यांकरमा निषेधित गाँजा राखी रक्सौलतर्फ लैजाने क्रममा भारतीय चालकसहित चार जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

gaja-kheti

चालक भारत उत्तरप्रदेश बस्ने २८ वर्षीय मोहम्मद जाबेद र सहचालक भारतको फूलबारिया बस्ने २४ वर्षीय धीरज पासवानलाई मनहरिमा समाती अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अवैध गाँजा भारततर्फ निकासी गर्ने क्रममा सो ट्यांकरलाई बाटो देखाउने र चालकलाई सुरक्षा दिने कार्यमा संलग्न भएको आशङ्कामा मनहरि गाविस– ३ बस्ने सन्तोष तामाङ र हाँडीखोला गाविस– ७ बस्ने राम वाइवा तथा ट्यांकर प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us